
काठमाडौं, वैशाख २२ । आपूर्तिमन्त्री गणेश मान पुनले देशमा पर्याप्त इन्धनलगायत अत्यावश्यक वस्तुको पर्याप्त भन्डारणको व्यवस्था नहुँदा आपूर्तिमा समस्या भएको बताएका छन् ।
नेपाल चेम्बर अफ कमर्सले बुधबार राजधानीमा आयोजना गरेको अन्तरक्रियामा मन्त्री पुनले ग्यास आपूर्तिको समस्या समाधान गर्न कमसेकम सरकार र निजी क्षेत्रले २/२ महिनाका लागि भन्डारणको व्यवस्था गर्नुपर्ने बताए ।
चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले आपूर्ति नीति २०६९ कार्यान्वयन गर्न आपूर्ति मन्त्रालयले विशेष चासो दिनुपर्ने बताउँदै आर्थिक ऐनहरु पारित हुन नसक्नु नै विद्यमान समस्याको कारण रहेको बताए ।
आपूर्तिसचिव श्रीधर सापकोटाले हालको समस्याको जिम्मेवार सरकार एवं निजी क्षेत्र दुबै रहेकाले ग्यासउद्योगी एवं वितरकले इमान्दारिता कायम गरे आपूर्ति सहज हुने दाबी गरे । साथै, उनले ग्यास डिपो प्रमाणीकरण गर्नुपर्नेमा जोड दिए ।
नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले मागअनुसार इन्धनको आपूर्ति भइरहेको बताउँदै अधिक मात्रामा सन्चय गर्ने प्रवृत्तिले अझैपनि आपूर्तिमा समस्या देखिएको बताए ।
उनले इन्धनको सरल तथा सहज आपूर्तिको लागि भारतको पारादीपबाट इन्धन आयात् गर्ने तयारी भइरहेकोसमेत जानकारी गराए ।
प्रतिक्रिया दिनुहोस्