Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


चिया उद्योगी र मजदुरबीच तीन बुँदे सहमति, आन्दोलन फिर्ता


0
Shares

भद्रपुर, वैशाख ३१ । नेपाल चिया उत्पादक संघले श्रम ऐन र नियमावलीमा व्यवस्था भएबमोजिम पारिश्रमिक दिने लिखित सहमति गरेपछि चिया मजदुरले आन्दोलन फिर्ता लिएका छन् ।

सरकारले तोकेको न्यूनतम ज्याला दिन चिया बगान र उद्योगका सञ्चालकले नमानेपछि गत चैत १७ गतेदेखि चिया मजदुर सडक आन्दोलनमा उत्रिएका थिए । सोमबार साँझ विर्तामोडमा नेपाल चिया उत्पादक संघ र चिया मजदुरको विभिन्न संघ संगठनका वार्ताकारबीच तीन बुँदे सहमति भएको हो ।

वार्तामा सहभागी अखिल नेपाल ट्रेड युनियन महासंघ १ नं प्रदेशका उपाध्यक्ष सन्तकुमार राईका अनुसार सहमतिको पहिलो बुँदामा नेपाल सरकारले २०७५ साउन ३१ गते राजपत्रमा प्रकाशित गरी चिया बगान तथा कारखानामा काम गर्ने श्रमिकका लागि तोकेको न्यूनतम पारिश्रमिक आधारभूत तलब रु २३१, महङ्गी भत्ता रु १४५ र कारखानामा काम गर्ने नाइके तथा चौकीदारको अतिरिक्त भत्ता दैनिक रु ४२ सबै चिया बगान तथा कारखानामा कार्वान्यन गर्ने उल्लेख छ ।

गत साउनदेखि नपाइरहेको पारिश्रमिक आगामी चैत मसान्तसम्ममा उद्योगी पक्षले मजदुरलाई भुक्तानी गरिसक्नुपर्ने सहमति गरिएको छ ।

यसैगरी, सहमतिको दोस्रो बुँदामा श्रम ऐन २०७४ र नियमावली २०७५ मा भएको व्यवस्था नेपाल चिया उत्पादक संघमा आवद्ध चिया बगान तथा कारखानामा कार्यान्वयन गरिने उल्लेख छ । अन्तिम बुँदाको सहमतिमा गत चैत १७ गतेदेखि बन्द रहेका चिया बगान आजदेखि खुला गर्ने र मजदुर काममा फर्किने उल्लेख छ ।

सहमतिपत्रमा नेपाल चिया उत्पादक संघका तर्फबाट छत्रबहादुर गिरी, चण्डी पराजुली, शिवकुमार गुप्ता, हरि गिरी र कुमार गिरीले तथा मजदुरका तर्फबाट अखिल नेपाल चिया मजदुर संघका केन्द्रीय अध्यक्ष सीता सापकोटा, नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक सङ्घका केन्द्रीय उपाध्यक्ष सहीकुमार राई, भूपाल सापकोटा, सन्तकुमार राई, यज्ञप्रताप अधिकारीलगायतले हस्ताक्षर गरेका छन् । 

चिया क्षेत्रमा कार्यरत ५० हजार मजदुर विगत ४५ दिनदेखि न्यूनतम पारिश्रमिकको माग गर्दै कठोर आन्दोलनमा थिए । सहमति भएकाले मजदुर आजदेखि नै काममा फर्किने नेपाल चिया बगान श्रमिक संघका अध्यक्ष दीपक तामाङले बताए । (रासस)

Skip This