Logo २७ असार २०८३, शनिबार | Sat Jul 11 2026


बजेटको नीति तथा सिद्धान्त र प्राथमिकतामाथिको छलफल जारी


0
Shares

                                         तस्वीर : रासस

काठमाडौं, वैशाख ३० । अर्थमन्त्री डा.युवराज खतिवडाले शुक्रबार प्रस्तुत गरेको आगामी आर्थिक बजेटको नीति तथा सिद्धान्त र प्राथमिकतामाथिको छलफल संघीय संसदका दुवै सदनमा आज पनि जारी रह्यो ।

छलफलमा भाग लिँदै सत्तारुढ दलका सांसदहरुले राम्रा कार्यक्रमहरु समेटेर विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता बनाइएको भन्दै विकासका प्रयासहरुमा जनप्रतिनिधिको भूमिका र सहकार्यका साथ अगाडि बढ्नुपर्ने धारणा राखेका छन् ।

पूर्व अर्थमन्त्री एवं सत्तारुढ दल नेकपाका महासचिव विष्णु पौडेलले सीमित स्रोत साधन र असीमित जनआकांक्षाबीचको सन्तुलन मूख्य चुनौती रहेकाले यसतर्फ विशेष ध्यान दिनुपर्ने बताए ।

सांसद पौडेलले विकासको बाधकको रुपमा रहेको सार्वजनिक खरिद ऐनलाई समायानुकुल संशोधन गर्ने गरि सकारात्मक ढंगले बजेटका सिद्धान्त र प्राथमिकता आएको धारणा राखे । नेकपाकै सांसद धनश्याम भूसालले सीमान्तकृत वर्ग र निम्न आय भएका जनता केन्द्रीत गरेर बजेट ल्याउनुपर्ने धारणा राखे ।

छलफलमा भाग लिँदै प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरुले राजनीतिक आग्रह र पूर्वाग्रह राखेर विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता आएको भन्दै सच्याउन माग गरेका छन् । तीव्र आर्थिक वृद्धि, खर्च गर्ने क्षमताको विकास गर्ने, स्वदेशी लगानी बढाउने र विदेशी लगानी भित्र्याउने खाका सरकारले दिन नसकेको उनीहरुको टिप्पणी छ ।

बजेटका नीति तथा सिद्धान्त र प्राथमिकतामाथिको छलफलका क्रममा संसदमा उठेका प्रश्नको अर्थमन्त्रीले जवाफ दिएपछि नीति तथा सिद्धान्त र प्राथमिकता संसदबाट पारित हुनेछ ।