
काठमाडौं, वैशाख २५ । कृषिमन्त्री हरिबोल गजुरेलले स्रोत–साधनको अधिकतम् प्रयोगबाट उत्कृष्ट परिणाम ल्याउन कृषि वैज्ञानिकहरुलाई सुझाव दिएका छन् ।
कृषि अनुसन्धान परिषद (नार्क)को रजतमहोत्सवको अवसरमा शनिबार ललितपुरमा भएको कार्यक्रममा उनले कृषिमा विनियोजन गरिएको बजेट खर्च गर्न आग्रह गरे ।
देशको कृषि क्षेत्रमा बजेट नपुगेरभन्दा पनि भएको बजेट खर्च नभएर समस्या भएको मन्त्री गजुरेलको भनाइ थियो ।
मन्त्री गजुरेलले २५ वर्षमा परिपक्व भइसक्नुपर्नेमा नार्क अझैपनि परिपक्व नभइसकेको टिप्प्णी पनि गरे ।
कार्यक्रममा नार्कका कार्यकारी निर्देशक एवं वैज्ञानिकहरुले कृषि अनुसन्धानमा बजेट विनियोजन कम भएको गुनासो गरेका थिए ।
नार्कका कार्यकारी निर्देशक वाइआर पाण्डेले परिषदको स्थापनाकालकोे १८२३ जनाको दरबन्दीअन्तर्गत् नै २५ वर्षसम्म देशभर अनुसन्धान सन्चालन गर्नुपरेकोले अपेक्षित उपलब्धि हसिल गर्न नसकिएको बताए ।
पाण्डेले अपुग दरबन्दीकासाथै नियमित भर्ना नहुनु, भर्ना गरिएको जनशक्तिको सेवा–सुविधामा कमी हुनुकासाथै अत्यधिक राजनीतिक हस्तक्षेपका कारण समस्या सिर्जना भएको बताए ।
राष्ट्रिय जीन बैंकका वरिष्ठ वैज्ञानिक डा. बालकृष्ण जोशीले परिषदमा कृषिविज्ञहरुको भावनाको कदर हुनुपर्ने ठाउँमा राजनीतिले बढी स्थान पाएको गुनासो गरे ।
उनले देशमा कृषि क्षेत्रको विकासका लागि कृषिलाई सम्मानित पेशाकोरुपमा लिइनुपर्नेमा जोड दिए ।
कार्यक्रममा मन्त्री गजुरेलले कृषि क्षेत्रको विकासमा योगदान पुर्याउने पत्रकार, वैज्ञानिक, कृषक, प्राविधिक, कर्मचारीलाई पुरस्कार वितरण गरेका थिए ।
साथै, कृषिसम्बन्धी विभिन्न विधाका २७ ओटा पुस्तकको विमोचन पनि गरिएको थियो ।
रजतमहोत्सवको अवसरमा कृषि अनुसन्धान परिषद (नार्क)को परिसरमा कृषिमेला पनि सन्चालन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्