Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


बागलुङको तमानखोलामा जन्ती बोकेको पिकअप जिप दुर्घटना, ५ जना घाइते


0
Shares

डम्मर बुढा मगर

बागलुङ, वैशाख ३० । तमानखोला गाउँपालिका वडा नम्बर ५ चौरवन बाँसघारीमा पिकअप जिप दुर्घटना भएको छ ।

ढोरपाटन नगरपालिका वडा नम्बर ३ बाट जन्ती लिएर तमानखोला गाउँपालिका वडा वडा नम्बर ६ पात्ले जाँदै गरेको ग२च ३०२८ नम्बरको पिकप जिप दुर्घटना हुँदा ५ जना घाइते भएका छन् ।

दुर्घटनामा परी घाइते भएका मध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरी चौकी बोंगादोभानका प्रहरी सहायक निरीक्षक पदम बहादुर नेपालीले जानकारी दिए । गम्भीर घाइते ढोरपाटन नगरपालिका वडा नम्बर ३ घोसाका ५८ वर्षीय जगमान सुनार (दुलाहको बुवा) को टाउको र दाहिने पट्टी पाखुरामा गम्भीर चोट लागेको छ भने तमानखोला गाउँपालिका वडा नम्बर २ का ४२ वर्षीया बाटुली कमिनीको दाहिने हात र छातीमा गम्भीर चोट लागेको प्रहरी सहायक निरीक्षक नेपालीले बताए ।

गम्भीर घाईते सुनार र कमिनीको ढोरपाटन नगरपालिकाको बुर्तिबाङ स्थित बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि थप उपचारका लागि पाल्पा रिफर गरिएको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका मेडिकल अधिकृत डा. कृष्णहरी श्रेष्ठले जानकारी दिए ।  

गम्भीर घाइतेहरुलाई पाल्पासम्म पुग्नका लागि ढोरपाटन नगरपालिकाका नगर प्रमुख देव कुमार नेपालीले आर्थिक सहयोग गरेका छन् । 

अन्य घाइतेहरु ढोरपाटन नगरपालिका वडा नम्बर ३ घोसाका वर्ष ३७ का काजी विक, घोसा कै ६१ वर्षीय तिल बहादुर श्रीपाली र तमानखोला गाउँपालिका वडा नम्बर १ रिक्लाङकी निर्मला श्रीपालीको अवस्था सामान्य रहेको र उनीहरुको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

पिकअपमा १४ जना सवार थिए । घुम्तीसँगै उकालो बाटो भएको बाँसघारीमा एक्कासी विपरीत दिशाबाट करिब ६÷७ ओटाको संख्यामा भैँसी आएपछि ब्रेक लगाएर अगाडी बढ्ने क्रममा पिकअप नपुगेर जिप दुर्घटना भएको अनुसन्धानका क्रममा खुलेको बोंगादोभान प्रहरी चौकीले जनाएको छ । 

प्रहरी सहायक निरीक्षक नेपालीका अनुसार जिप मोटर बाटोदेखि करिब १५ मिटर तल खसेको छ ।

सवारी चालक तमानखोला गाउँपालिका वडा नम्बर ६ पात्लेका ३७ वर्षीय लालप्रसाद आचार्य प्रहरी नियन्त्रणमा रहेको र थप अनुसन्धान भइरहेको प्रहरी सहायक निरीक्षक नेपालीले बताए ।