२३ बैशाख २०८२, मंगलबार | Tue May 6 2025


पानामा पेपर्समार्फत् सात नेपालीको नाम सार्वजनिक, को–को परे ?


0
Shares

काठमाडौं, बैशाख २८ । अन्तर्राष्ट्रिय खोज पत्रकार समूह (आईसीआईजे)ले सार्वजनिक गरेको पनामा पेपर्स भनिने अनुसन्धानको दोस्रो विवरण सार्वजनिकमा सात जना नेपालीको नाम परेको छ ।

सोमबार राति सार्वजनिक गरिएको अफसोर कारोबार गर्ने व्यक्ति र कम्पनीहरुको सूचीमा सात जना नेपाली परेका हुन् । पनामा लिक्समा उपेन्द्र महतो, अरुणकुमार चौधरी, सुभांसुकुमार चौधरी, करणकुमार चौधरी, शिला चौधरी, उमादेवी सिंहानिया र नवयुग डोल्माको नाम छ ।

पूर्व सोभियत संघ र रसियाबाट आफ्नो व्यापार सुरु गरेका उपेन्द्र महतो एनआरएन नेपालका पूर्वअध्यक्ष हुन् भने अरुणकुमार चौधरी नेपालको ठूलो व्यापारिक घराना चौधरी ग्रुपका प्रबन्ध निर्देशन हुन् ।

यो सूचीमा संलग्न अरु चौधरी पनि चौधरी ग्रुपमै आबद्ध देखिन्छन् । सिंहानिया र डोल्मा खासै चिनिएका व्यापारी होइनन् । यो लिक्समा सन् २०१३ को स्वीस लिक्सका व्यक्तिहरुको नाम पनि समावेस छ ।

१२ जनाको पुरानो नामलाई पनि यस पटकको सूचीमा अफसोर लिक्स भनेर समावेश गरिएको छ । यसवाहेक सतिसलाल आचार्यको नाम पनि थपिएको छ ।

पुरानो लिक्सका रेणुका प्रधान, रेखा काब्रा, डाक्टर श्यामसुन्दर कर्माचार्य, शशिकान्त अग्रवाल, हरिशकुमार तोदी, विजेशकुमार अग्रवाल, शैलेन्द्रकुमार गुप्ता, विमलकाजी ताम्राकार, विजेन्द्र जोशी, बिनु श्रेष्ठ, विश्वास बरसिंह थापा, राजेन्द्रकुमार काब्राको नाम पनि सार्वजनिक गरिएको छ । उनीहरुको नाम स्वीस लिक्स भनेर पुनः सार्वजनिक गरिएको हो ।

आईसीआईजेले विश्वका धेरै सञ्चार माध्यमसमेतको संलग्नतामा यो प्रतिवेदन सार्वजनिक गरेको जनाएको छ । उक्त संस्थाले यसको प्रारम्भिक प्रतिवेदन करिब एक महिनाअघि सार्वजनिक गरेको थियो ।

करको सहुलियत भएका र कतिपय मुलुकमा सम्पत्तिको स्रोत खुलाउनु नपर्ने भएका कारणले पनि यस्ता मुलुकमा कम्पनी खोल्ने चलन छ । यस्ता सबै कम्पनी गैरकानुनी र कर छल्ने नियतका कारण खुलेका हुन्छन् भन्न सकिन्छ तथापी करका मामिलामा यस्ता कम्पनी शंकास्पद मानिन्छन् ।

ट्याक्स हेवनमा ख्याति कमाएका हङकङ र ब्रिटिस भर्जिन आइल्यान्डलगायत देशबाट नेपालमा पछिल्लो समय लगानी बढ्दो क्रममा छ ।

हङकङ र ब्रिटिस भर्जिन आइल्यान्डलगायत देशबाट नेपालमा पछिल्लो समय लगानी बढ्दो क्रममा छ । हङकङ र ब्रिटिस भर्जिन आइल्यान्ड क्रमशः दोस्रो र पाँचौं बढी लगानी गर्ने मुलुकमा पर्दछन् ।

बढी लगानी गर्ने मुलुकको पहिलो नम्बरमा भारत, तेस्रोमा चीन र चौथोमा साउथ कोरिया छन् ।