२० श्रावण २०८२, मंगलबार | Tue Aug 5 2025


‘टोले गुन्डा’लाई कारबाही गर्ने चेतावनी


0
Shares

काठमाडौं, वैशाख २९ । महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदीले राजधानीको शान्ति–सुरक्षामा कुनै किसिमको सम्झौता नगर्ने बताएका छन् ।

काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेपछि आइतबार पहिलोपटक पत्रकारहरुसँग भेटघाट गर्दै एसएसपी सुवेदीले नियम र कानुनको परिधिमा रहेर जनताको शान्ति–सुरक्षाका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

राजधानीमा संगठित अपराध र भूमिगत संगठनहरुको चन्दा आतंक कम भएको तथा सामाजिक अपराध बढेको जानकारी दिँदै एसएसपी सुवेदीले त्यस्ता अपराधलाई पनि नियन्त्रण गरिने बताए ।

‘टोले गुन्डा’हरुको सूचना संकलन गरिसकेको भन्दै उनले पहिलो चरणमा टोले गुन्डालाई सम्झाउने र अटेर गरे कारबाही गर्ने चेतावनी दिए ।

‘अपराध न्यूनीकरणका लागि कुनै कसर बाँकी राखिँदैन’

सो अवसरमा अपराध अनुसन्धान महाशाखाका एसएसपी सहकुल थापाले आपराधिक गतिविधि न्यूनीकरणका लागि कुनैपनि कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे ।

आफ्नो कार्यकालमा साझा लक्ष्य, रणनीति र साझा कार्यनीति बनाइ अपराध न्यूनीकरणमा लाग्ने उनको भनाइ थियो ।