
काठमाडौं, वैशाख २९ । गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष उपेन्द्र महतोले ‘पनामा पेपर्स’मा आफ्नो नाम परेकामा प्रष्टिकरण दिएका छन् ।
विदेशमा गरेको लगानी वैध भएको महतोले बुधबार प्रेस विज्ञप्ति निकाली प्रष्ट गरेका हुन् ।
‘अफसोर’ कारोबारमार्फत् गैरकानुनी काम नगरेको प्रष्ट पार्दै उनले नकारात्मक प्रतिक्रिया र भ्रम नराख्न सबैलाई आग्रह गरेका छन् ।
उनले आफू विगत ३५ वर्षदेखि अध्ययन र व्यवसायको सिलसिलामा विदेशमा बस्दै आएको भन्दै ‘विदेशमा बस्दा कमाएको पूँजीलाई नेपालबाहेक युरोप, एसिया र अफ्रिकाका विभिन्न देशमा व्यवसायिक प्रतिष्ठानहरु खडा गरेर लगानी गरेको’ बताएका हुन् ।
‘विदेशमा रहँदा मूलतः व्यवसायमा संलग्न रहेको र त्यो लगानीको पूँजी विदेशमै आर्जन गरेको’ उनले स्पष्ट पारेका छन् ।
‘विदेशमा बस्ने नेपाली नागरिकले आफू बसेको ठाउँमा कमाएको पूँजी त्यहीँ वा अरु मुलुकमा लगानी गर्ने कुरा कानुनसम्मत र विश्वव्यापी प्रचलनमा रहेको’ उनले उल्लेख गरेका छन् ।
त्यसबाहेक नेपालमा गरेको लगानी पनि विदेशबाटै ल्याएको र अझै ल्याउने दृढ समर्पणकासाथ काम गरिरहेको महतोको भनाइ छ ।
विगत धेरै वर्षदेखि विदेशी लगानीकर्ता साथीलाईसमेत नेपालमा आमन्त्रित गरेर विभिन्न स्थानमा व्यवसाय विस्तार गरिरहेको जानकारी पनि उनले दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्