Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


वर्षा सिजनभर डुबानकै चिन्ता (भिडियो)


0
Shares

प्रकाश मैनाली

सर्लाही, वैशाख २९ । बर्सेनि बाढी र डुबानबाट पीडित बनेका सर्लाहीको मलंगवा नगरपालिका–५, भाडसरका बासिन्दा वर्षायाम नजिकिएसँगै चिन्तित बनेका छन् ।

बेलैमा तटबन्धको काम नभएकाले यो वर्ष पनि विगतकै नियति भोग्नुपर्ने त्रासका कारण उनीहरु चिन्तित बनेका हुन् ।

भाँडसर बस्ती डुबानको उच्च जोखिममा रहेको क्षेत्र हो । लखन्देही नदीको किनारमा रहेको यस बस्तीमा बर्सेनिजसो बाढीका कारण ठूलो जनधनको क्षति हुँदै आएको छ । बेलैमा तटबन्ध निर्माणको काम नहुँदा गाउँले बाढीले गर्न सक्ने संभावित विध्वंशप्रति त्रसित छन् ।

झरी पर्नासाथ बस्ती डुबानमा पर्ने र अन्य ठाउँसँगको सम्वन्ध विच्छेद हुने गरेकाले स्थानीयले अहिलेबाटैै खाद्यान्नको जोहो गर्न थालेका छन् ।

डुबानका कारण बर्खायाममा तीन–चार महिना विद्युत सेवासमेत ठप्प हुने गरेको छ । सदरमुकामकै वडा भए पनि विकासका पूर्वाधारको अवस्था पनि नाजुक छ ।

आफूहरुको क्षेत्रमा शिक्षा, स्वास्थ्य, सडकजस्ता आधारभूत कुरामा पनि चरम अभाव रहेको स्थानीयको गुनासो छ ।

भारतीय पक्षले बाँध निर्माण गरिसकेकाले नेपालको बस्ती अझ बढी जोखिममा परेको छ । बाँध निर्माणको लागि अर्बौं रकम लाग्ने भएकाले नगरपालिकाले काम त सुरु गरेको छ तर बजेट अभावमा अगाडि बढ्न सकेको देखिँदैन । मलंगवा नगरपालिकाका प्रमुख निरसल साहले तटबन्ध निर्माणका लागि ठूलो रकम आवश्यक पर्ने भएकाले केन्द्र सरकारसँग पहल गरिरहेको बताउँछन् ।

स्थानीयवासीले बर्खा अगावै तटबन्ध निर्माण गरेर डुबानबाट बचाइदिन सरोकारवाला पक्षसँग आग्रह गरिरहेका छन् । यस्ता जोखिमका बस्तीलाई कि त सुरक्षित बनाउने त्यो नसके बस्ती नै स्थानान्तरण गर्न आवश्यक छ ।

भिडियो हेर्नुहोस्