१ जेष्ठ २०८२, बिहिबार | Fri May 16 2025


लघुवित्तको माध्यमबाट उद्यमशीलताको विकास गर्न सम्मेलन


0
Shares

काठमाडौं, वैशाख ३० । देशमा लघुवित्तको माध्यमबाट उद्यमशीलताको विकास गर्न ‘उद्यमशीलताको विकास, गरिबी निवारणको निकास’ भन्ने नाराकासाथ राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन आयोजना हुने भएको छ ।

राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन आयोजक समितिले विहीबार राजधानीमा गरेको पत्रकार सम्मेलनमा स्वावलम्ब विकास केन्द्रका अध्यक्ष शंकरमान श्रेष्ठले लघुवित्तको माध्यमबाट निम्न वर्गमा उद्यमशीलता अभिबृद्धि गरिने बताए ।

सम्मेलनमा लघुवित्तका ग्राहकहरुको भावना, सोच, समस्या तथा अनुभूतिको आदान–प्रदान हुने उनले बताए ।

लघुवित्त बैंकर्स संघका उपाध्यक्ष रामचन्द्र जोशीले हाल नेपालमा ४० प्रतिशत जनताले लघुवित्तको सेवा प्राप्त गरिरहेको र बाँकी ६० प्रतिशत अझैपनि यसको पहुँचबाट बन्चित रहेको बताए ।

आगामी जेठ २ र ३ गते राजधानीमा हुने सम्मेलनमा लघुवित्तमा आबद्ध महिला सदस्यहरु, लघुवित्त संस्थाका पदाधिकारीहरु तथा नीति–निर्मातालगायत करिब ७ सयको सहभागिता रहने आयोजकले जनाएको छ ।

लघुवित्तमार्फत् वित्तीय पहुँचबाट टाढा रहेका विपन्न वर्ग रोजगारमूलक एवं आर्थिक गतिविधिमा संलग्न भइ उनीहरुको आर्थिक तथा सामाजिकस्तरमा वृद्धि हुने आयोजकको विश्वास रहेको छ ।