
काठमाडौं, वैशाख २८ । चालू आर्थिक वर्षको ९ महिना बितिसक्दासमेत अधिकांश राष्ट्रिय गौरवका आयोजनाको प्रगति न्यून छ ।
यस अवधिसम्म अधिकांश आयोजनाको भौतिक प्रगति ५० प्रतिशत पनि पुगेको छैन ।
यस अवधिमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको प्रगति सबैभन्दा न्यून १.५ प्रतिशत छ भने मेलम्ची खानेपानी आयोजनाको पनि ११.१ प्रतिशतमात्रै भौतिक प्रगति भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको हो ।
चालू आर्थिक वर्षका लागि विनियोजन गरिएको पुँजीगत बजेटको आधारमा आयोजनाको भौतिक प्रगति ज्यादै न्यून देखिएको हो ।
केही आयोजनाहरुको प्रगति भने शतप्रतिशत छ ।
पुष्पलाल राजमार्ग अर्थात् मध्यपहाडी राजमार्गको सबैभन्दा उच्च १४० प्रतिशत भौतिक प्रगति भएको तथ्यांक कार्यालयको छ ।
यस्तै, लुम्बिनी विकास कोषको शतप्रतिशत, दक्षिण एसिया पर्यटन पूर्वाधार विकास आयोजनाको ११० प्रतिशत, हुलाकी राजमार्ग पुलहरुसमेत गरी १०४ प्रतिशत भौतिक प्रगति भएको जनाइएको छ ।
उत्तर–दक्षिण राजमार्गको पनि ९० प्रतिशत प्रगति भएको कार्यालयले जनाएको छ ।
चालू आर्थिक वर्षमा बजेट विनियोजना गरिएको प्रगतिको आधारमा ५० प्रतिशतभन्दा कम भौतिक प्रगति हुने आयोजनाहरुमा पशुपति क्षेत्र विकास कोष, काठमाडौं–तराई–मधेस ‘फास्टट्रयाक’, राष्ट्रपति चुरे तराई मधेस संरक्षण छन् ।
राष्ट्रिय गौरवका आयोजनाहरुको भौतिक प्रगति बढाउन अनुमगन गर्नुपर्ने देखिएको बताउँछन्, महालेखा नियन्त्रक कार्यालयका प्रवक्ता जगन्नाथ देवकोटा ।
समग्रमा राष्ट्रिय गौरवका आयोजनाहरुको भौतिक प्रगति ५३ प्रतिशत पुगेको देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्