
काठमाडौं, जेठ १ । यो साता शेयर बजारमा कारोबार परिमाण र बजार परिसूचक नेप्से दुबैमा सुधार आयो ।
कारोबार परिमाण गत साताभन्दा ६६ प्रतिशतले बढ्यो भने नेप्से सूचक गत विहीबारको तुलनामा १८ अंक बराबरले उकालो लाग्यो ।
साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ९.२५ अंकले बढेर अन्तिम दिन १४८१.९४ अंकमा पुगेको छ । विहीबारको तुलनामा भने नेप्से १८ अंक बराबरले बढेको हो ।
आइतबार एकैदिन साढे ९ अंक बराबरले बढेको थियो ।
यो साता नेपाल स्टक एक्सचेन्जमा १४९ कम्पनीहरुको पाँच अर्ब २८ करोड रुपैयाँ बराबरका ४ लाख १५ हजार बराबर कित्ता सेयरहरु खरिद–बिक्री भएको एक्सचेन्जले जनाएको छ ।
गत साता १४४ कम्पनीहरुको तीन अर्ब १८ करोड २४ लाख बराबरका ५० लाख ७ हजार बराबर कित्ता सेयरहरु खरिद–बिक्री भएका थिए ।
बीमा समूहमा सबैभन्दा उच्च ४ सय २२ अंकको सुधार आयो । होटल समूह पनि २२ अंकले सकारात्मक रह्यो भने वाणिज्य बैंक समूह भने १० अंकले ऋणात्मक रह्यो ।
यो साता कारोबार रकम (४६ करोड ६ लाख रुपैयाँ)को आधारमा एनआइसी एसिया बैंक लिमिटेड अग्रस्थानमा रहेको छ ।
एनआइसी एसियालाई नेपाल बंगलादेश बैंक, नेपाल बैंक, लाइफ इन्स्योरेन्स कर्पोरेसन अनि सिटिजन्स बैंक इन्टरनेसनलले क्रमशः पच्छ्याउन पुगे ।
यो साता नेप्सेमा सहारा विकास बैंक, इन्टरनेसनल डेभलपमेन्ट बैंक, रिलायबल माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक र सिद्धार्थ बैंकका बोनस शेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्