
-प्रतिक्षा खनाल र देवेन्द्र महर्जन(ईमेज)
काठमाडौं । राजधानी काठमाडौं अहिले बैजनी रंगमा रंगिएको छ ।
सडक आसपासमा फूलेका बैजनी रंगका फूलले धेरैको मन त खिचेको छ नै यसले शहरलाई पनि सुन्दर बनाएको छ ।
तर यसरी फूलेको ढकमक्क फूल के हो भन्ने धेरैलाई थाहा नहुन सक्छ ।
काठमाडौंका अधिकांश सडक आसपासमा ढकमक्क फूलका वैजनी रंगका यी फूलले जोकोहीलाई पनि आकर्षित गर्ने गरेको छ ।
काठमाडौंलाई सुन्दर बनाइ रहेको यो फूल नेपालको मौलिक प्रजातीको भने होइन ।
यो ९० को दशकमा दक्षिण अमेरिकाबाट नेपाल भित्रिएको विश्वास गरिएको ज्याकारान्डा फूल हो ।
नेपालमा सबैभन्दा पहिले यो फूलको बिरुवा कसले भित्र्यायो भन्ने यकिन नभए पनि राणा परिवारले ल्याएको हुनसक्ने जानकारहरु बताउँछन् ।
केही वर्षअघिसम्म राणा परिवारको बगैंचामा मात्र सिमित रहेको यो विरुवा पछि सडकसम्म आइपुगेको हो ।
आयातित भए पनि यो प्रजाती नेपालको वातावरणमा सजिलै हुर्कन सक्छ ।
त्यसैले शहरको हरियाली जोगाउन काठमाडौंका सडक छेउछाउ थुप्रै ज्याकारान्डाका विरुवा लगाइए । ती विरुवा परिपक्व भई यो मौसममा ढकमक्क फूलेर शहरको सौन्दर्य बढाइरहेका छन् ।
शहरभरी ढकमक्क फूलेका रंगीचंगी फूलले काठमाडौंको सौन्दर्यतामा मनमोहकता थपिदिएको छ । काठमाडौंको सडकमा अहिले बेग्लै रौनकको अनुभूति गर्न सकिन्छ ।
सडकमा हिँड्ने पैदल यात्रु र सवारी साधनमा हुईंकिने यात्रु पनि शहरको सौन्दर्य देखेर लठ्ठ पर्ने गरेका छन् । यसले शहरको सुन्दरतामा थप निखार ल्याएको छ ।
शहरको हरियाली र फूलको रंगीचंगी वातावरणले शहरको शोभा त बढाएकै छ नै यसले वातावरणमा पनि सकारात्मक प्रभाव पारेको छ ।
प्रतिक्रिया दिनुहोस्