काठमाडौ । ‘जय नेपाल’ सामान्य रुपमा आमनेपालीले प्रयोग गरिरहने शब्द हो ।
तर सञ्चारमन्त्री गोकुल बाँस्कोटाले ‘मेरो सरकार’ भन्न नमिल्ने भए ‘जय नेपाल’ शब्द पनि नेपाली शब्दकोषबाट हटाउनुपर्ने तर्क गरेपछि अहिले नेपाली समाज र राजनीतिक वृत्तमा यसको निकै चर्चा भएको छ ।
‘जय नेपाल’ शब्दलाई अली बढी प्रयोग गर्ने प्रतिपक्षी नेपाली कांग्रेसले त आयातित शब्द ‘लाल सलाम’ भन्नेहरुका लागि राष्ट्रप्रेमी शब्द पाच्य नहुनु स्वाभाविकै हो भनेको छ ।
‘जय नेपाल’ शब्दको ब्याख्या गर्दै नेपाली शब्दकोषमा ‘२००७ सालको क्रान्तिछेक र त्यसपछि विशेष रुपमा चल्दै आएको, खासगरी राष्ट्रवादी नेपाली समाज र प्रहरी समाजमा प्रचलित, भेटघाट र विदाइका बेला शिष्टाचारपूर्ण अभिवादनका रुपमा प्रकट गरिने वा भाषण, प्रवचन आदिको अन्तमा अभिवादन जनाउन देश प्रेमको द्योतन गर्ने एक शब्द’ भनिएको छ ।
मुलुकको पुरानो राजनीतिक दल नेपाली कांग्रेसले यो शब्दलाई स्थापनाकालदेखि नै अभिवादनको रुपमा प्रयोग गर्दै आएको छ ।
यो शब्दको प्रयोग कांग्रेस र प्रहरीले अहिले पनि प्रयोग गरिरहेका छन् । पूर्वराजपरिवारका सदस्यले पनि यसको औपचारिक रुपमा बढी नै प्रयोग गर्दै आएका छन् ।
सरकारको नीति तथा कार्यक्रम पारित गर्ने क्रममा राष्ट्रपतिले ‘मेरो सरकार’ शब्द प्रयोग गरेकोप्रति भएको आलोचनाको जवाफ दिँदै सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले ‘मेरो सरकार’ शब्द बोल्न नहुने भए ‘जय नेपाल’ पनि राजा महेन्द्रले प्रयोग गरेको शब्द भन्दै शब्दकोषबाट हटाउन चुनौती दिएका थिए ।
तर, ‘जय नेपाल’ शब्दको खास उत्पत्ति हेर्ने हो भने राजा त्रिभुवनकै पालामा राणाशासन विरुद्धको संघर्षमा शहिद शुक्रराज शास्त्रीले प्रयोग गरेका थिए ।
तत्कालीन शासकले फाँसी दिने क्रममा अन्तिम इच्छा के छ ? भनेर सोध्दा शास्त्रीले ‘जय नेपाल’ भनेका थिए । त्यही बेलादेखि नेपाली समाजमा यो शब्दको प्रयोग हुँदै आएको हो ।
पछि कांग्रेसको नेतृत्वमा भएको २००७ सालको क्रान्तिमा यो नै मुख्य नारा बनेको थियो ।
कांग्रेसले सोही बेलादेखि भेटघाट, औपचारिक कार्यक्रम तथा लिखित दस्तावेजमा समेत यही शब्दको प्रयोगलाई अभिवादन गर्ने माध्यम बनायो ।
कम्युनिष्टहरुले अभिवादनका क्रममा ‘लालसलाम’ शब्दको प्रयोग गर्ने गर्दछन् । आफूले प्रयोग गर्दै आएको शब्दप्रति सरकारकै प्रवक्ताले आपत्ति जनाएपछि कांग्रेसले पनि ‘लाल सलाम’ आयातित शब्द भन्दै त्यस्ता शब्दमा मोह हुनेहरुलाई ‘जय नेपाल’को अर्थ थाहा नहुनु स्वाभाविक भएको टिप्पणी गरेको छ ।
राजनीतिको मूल भाव सेवा र समृद्ध समाज तथा देश निर्माण गर्नु हो ।
यत्तिका बौद्धिक भनिएका नेताहरु नै आफ्नो पदीय गरिमा र दायरा बाहिर गएर असहिष्णु तवरले बोल्दा यसले के सन्देश देला, कम्तिमा बोल्नुअघि एक पटक सोच्ने की ?









प्रतिक्रिया दिनुहोस्