२ जेष्ठ २०८२, शुक्रबार | Fri May 16 2025


‘पपुलिष्ट’ बजेटले अर्थतन्त्रलाई रसातलमा पुर्‍याउने अर्थविद्हरुको चेतावनी


0
Shares

काठमाडौं, जेठ ३ । अर्थविद्हरुले ‘पपुलिष्ट’ बजेटले अर्थतन्त्रमा प्रतिकूल असरपार्ने भन्दै यसतर्फ सचेत हुन सरकारको ध्यानाकर्षण गराएका छन् ।

सरकारको नीति तथा कार्यक्रमअनुसारकै बजेट आए त्यो कार्यान्वयन हुन नसकी मुलुकको अर्थतन्त्रलाई रसातलमा पुर्‍याउने उनीहरुले चेतावनी दिएका छन् ।

सोमबार राजधानीमा भएको यससम्बन्धी साक्षात्कारमा पूर्वअर्थसचिव डा. विमल कोइरालाले खर्च गर्नसक्ने क्षमता र संरचनाको हिसाबमामात्रै बजेट ल्याउनुपर्ने बताए ।

अहिलेको ‘पूरै साहित्य जस्तो’ लाग्ने नीति तथा कार्यक्रमअनुसार बजेट आए त्यसले मुलुकको अर्थतन्त्रलाई रसातलमा पुर्‍याउने उनले चेतावनी दिए ।

हैसियतअनुसारको कार्यान्वयन हुने, व्यवहारिक, उत्पादकत्व बढाउने र रोजगारी सिर्जना गर्नेखाले बजेट ल्याउन उनले सुझाव दिए ।

‘एक घर एक रोजगारी’को नारा असम्भव भएको भन्दै उनले सरकारलाई रोजगारीको सिर्जना कसरी हुन्छ ? भन्नेसमेत जानकारी नभएको आरोप लगाए ।

अर्थविद् प्रा.डा. विश्वम्भर प्याकुर्‍यालले प्रशासकीय र शासकीय संयन्त्र परिवर्तन नगरेसम्म कुनैपनि बजेट कार्यान्वयन हुन नसक्ने ठोकुवा गरे ।

भारतको बजेटले पार्ने असरलाई बजेटले सम्बोधन गर्न सक्नुपर्नेमा पनि उनले जोड दिए ।

३२५ अर्ब रुपैयाँ बेरुजु भएको, पूँजीगत् खर्चसमेत गर्न नसकेको अवस्थामा झन् ठूलो बजेट कार्यान्वयन हुनेप्रति उनले आशंका व्यक्त गरे ।

विगतमा गरिएका प्रतिबद्धता किन कार्यान्वयन भएन भन्ने विषयमा बजेटले मूल्याङकन गर्न सक्नुपर्नेमा पनि प्याकुर्‍यालले जोड दिए ।