१ श्रावण २०८२, बिहिबार | Fri Jul 18 2025


रानीपोखरी पुनःनिर्माण सुरु, भाइटीकासम्ममा तयार, अब यस्तो बन्दैछ (भिडियोसहित)


0
Shares

प्रतीक लामिछाने/भरत केसी/दिलिप पोखरेल (इमेज)
काठमाडौं, जेठ ५ । विनाशकारी भूकम्पले ध्वस्त बनाएको काठमाडौंस्थित रानीपोखरीको पुनःनिर्माणको काम सुरु भएको छ ।

गत माघ २ गते राष्ट्रिय भूकम्प दिवसको अवसर पारेर रानीपोखरीबाट पुनःनिर्माण अभियान घोषणा गरिएको थियो । त्यसको चार महिनापछिमात्र रानीपोखरीको पुनःनिमाण थालिएको हो ।

विक्रम संवत् १७२५ मा तत्कालीन राजा प्रताप मल्लले छोरा चक्रब्रतेन्द्र मल्लको वियोगको पीडामा रहेकी आफ्नी रानीलाई सान्त्वना दिनका लागि रानीपोखरीे निर्माण गरेका थिए ।

रानीपोखरीको दक्षिण कुनामा हात्तीमाथि चढेका प्रताप मल्ल र उनको छोराहरु मोहिपतेन र चक्रब्रतेन्द्रको मूर्तिले पनि यसको पुष्टि गर्छ । करिब दुई वर्ष लगाएर निर्माण गरिएको रानीपोखरीको बीचभागमा बालगोपालेश्वर महादेवको मन्दिर छ ।

विक्रम संवत् १९९० को भूकम्पले मन्दिरको गजुर लडाएको थियो भने २०७२ साल वैशाख १२ को भूकम्पले सिँगो मन्दिरलाई नै पूर्णरुपमा क्षतिग्रस्त बनायो ।

सरकारले भूकम्प दिवसको अवसर पारेर रानीपोखरीबाट पुनःनिमाण महाअभियान घोषणा गरेको चार महिनापछि बल्ल रानीपोखरीको पुनःनिमाण सुरु भएको छ ।

पुरातत्व विभागको रोहबरमा काठमाडौं महानगरपालिकाले यसको पुनःनिर्माणको जिम्मा पाएको छ ।

महानगरपालिकाका निमित्त प्रमुख सनतकुमार थापा आवश्यक विधि र प्रक्रिया पूरा गर्दा केही समय ढिलाइ भएपनि अब रानीपोखरी पुनःनिमाणको काम तीव्रताकासाथ अघि बढ्ने बताउँछन् । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।