Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


२५ वर्षपछि नेपाललाई १० हजार मेगावाट विद्युत् आवश्यक : अध्ययन


0
Shares

काठमाडौं, जेठ ७ । सन् २०४० मा नेपाललाई १० हजार मेगावाट विद्युत् आवश्यक पर्ने विश्व बैंकको एक अध्ययनले देखाएको छ ।

‘दक्षिण एसियामा क्षेत्रीय विद्युत् सहयोग एवं व्यापार’ शीर्षकमा उक्त बैंकले झन्डै तीन वर्ष गरेको अध्ययनले २५ वर्षपछि नेपालको आन्तरिक खपत्का निम्ति १० हजार मेगावाट बिजुली आवश्यक पर्ने देखाएको हो ।

माल्दिभ्सबाहेक दक्षिण एसियाका सबै मुलुकको जलविद्युत् उत्पादनको क्षमता, अन्तरदेशीय व्यापार र त्यसनिम्ति गर्नुपर्ने उत्पादन समेटेर उक्त बैंकका अध्येताद्वय गोविन्दराज तिमिल्सिना र माइकल टोम्यानले गरेको अध्ययनमा नेपालले ५२ हजार मेगावाट विद्युत् उत्पादन गर्नसक्ने जनाइएको छ ।

‘नेपालको २५ वर्षपछिको १० हजार मेगावाट विद्युत्को आन्तरिक आवश्यकता पूरा गर्न रु आठ खर्ब लाग्नेछ’–अध्ययनमा भनिएको छ ।

नेपालको जलविद्युत्का साथै ऊर्जा विकासका विविध परियोजनमा करिब रु ३५ अर्ब लगानी गरेको विश्व बैंक समूहले विद्युत् उत्पादन, विकास तथा सुधारका कार्यक्रमका लागि झन्डै रु एक खर्बका अन्य परियोजना सन्चालन गर्ने महात्वाकांक्षी योजना पनि अघि सारेको छ ।

अध्ययनका परिणाम शुक्रबार राजधानीमा सार्वजनिक गर्दै अध्येताद्वय तिमिल्सिना र टोम्यानले सुस्त क्षेत्रीय सहयोग, नीतिगत एवं प्राविधिक सुधार, संस्थागत् र संयन्त्रगत् व्यवस्थाको अभावले विद्युत्को क्षेत्रीय व्यापारले अपेक्षाकृत गति लिन नसकेको अध्ययनको निष्कर्ष सुनाए ।

जलविद्युत् उत्पादनको अपार सम्भावना रहेको नेपालले नेपाल विद्युत् प्राधिकरणको संरचनागत् सुधार, विद्युत् उत्पादन गर्ने बेग्लै प्रसारण एवं उत्पादन निकायको आवश्यकता, एकल क्रेता ढाँचाबाट बहुक्रेता प्रारुपमा जानुपर्ने तथा बंगलादेशसहित अन्य मुलुकसँग पनि व्यापार सम्पर्क विस्तार गर्नुपर्नेमा अध्ययनले जोड दिएको छ ।

अध्ययनले भारतसँग बजारमा आधारित विद्युत् व्यापार सम्पर्क विस्तार, जलविद्युत् क्षेत्रको विकासका निम्ति अधिक लगानी र नीतिगत एवं संरचनागत् सुधारलाई केन्द्रमा राखेर नेपालले काम गर्नुपर्ने सुझाव दिएको छ । रासस

फाइल फोटो