Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


स्वदेशी कपडा उद्योग जोगाउन माग


0
Shares

काठमाडौं, वैशाख २६ । कपडा उद्योगीहरुले निर्यातको प्रशस्त सम्भावना रहेको कपडा उद्योगका क्षेत्रमा सहुलियत दिएर प्रतिस्पर्धी क्षमता बढाउनुपर्नेमा जोड दिएका छन् ।

नेपाल कपडा उद्योग संघले बिहीबार राजधानीमा कार्यक्रम गरी आगामी बजेटमा आफूहरुको माग सम्बोधन गरेर यस क्षेत्रलाई जोगाउन आग्रह गरेका हुन् ।

राज्यले दिँदै आएको मूल्यवृद्धि कर फिर्ता र समायोजको सुविधा गत वर्षदेखि हटाएर लागत उच्च हुँदा छिमेकी मुकुकसँग प्रतिस्पर्धा गर्न नसकिएको भन्दै यसतर्फ गम्भीर हुन उनीहरुले सरकारको ध्यानाकर्षण गरे ।

एकातिर सुविधा हटाउने, अर्कोतिर श्रमिकको ज्याला वृद्धि हुँदै जाने, खर्बौंका अवैध कपडा भित्रने अनि छिमेकी मुलुकहरुले यस क्षेत्रमा उल्लेख्य सुविधा थप्दै जाने गर्दा नेपाली कपडालाई प्रतिस्पर्धा गर्नैै असम्भव बन्दै गएको उनीहरुको दुखेसो छ ।

हाल उच्च ‘भ्यालु एड’ भएको नेपाली कपडाले बजारको जम्मा ४ देखि ५ प्रतिशत हिस्सा ओगट्दै आएकोमा उचित सुविधा दिए आउँदो ५ वर्षमा २० प्रतिशतसम्मको बजार हिस्सा ओगट्नसक्ने सम्भावना रहेको संघको दाबी छ ।

यस क्षेत्रको प्रवर्द्धन गर्नसके आयात प्रतिस्थापन भइ विदेशी मुद्रा बचत हुनुका साथै तीन लाखजनासम्म नेपालीलाई रोजगारी दिन सकिने, निकासीमा निर्भर धागो उद्योगहरु आत्मनिर्भर हुने, कपास खेतीको विकास गरी सुति धागोको उत्पादन गर्ने सम्भावना बढ्नेलगायतका आयामतर्फ पनि उनीहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।