
काठमाडौं, वैशाख २६ । संघीय संसदको अर्थ समितिले प्रि–बजेटबारे पूर्वअर्थमन्त्रीसहित सरोकारवालाहरुसँग छलफल गरेको छ ।
काठमाडौमा आज भएको कार्यक्रममा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यथार्थपरक बजेट ल्याउन जोड दिए । उनले पुँजीगत खर्च हुन नसकेको भन्दै बजेटलाई नतिजामुखी बनाउन सुझाव दिए ।
संघ, प्रदेश र स्थानीय गरी तीनवटै तहमा बजेट खर्च हुन नसकेको कार्कीको भनाइ थियो । उनले स्थानीय सरकारले आर्थिक कार्यप्रणाली चुस्त बनाउनु पर्ने सुझाव दिए ।
पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले सरकारी बजेट खर्च र राजस्व संकलनको गति नाजुक भएको टिप्पणी गरे । उनले बजेटलाई व्यवस्थित र परिमाणमुखी बनाउनका लागि पूर्व तयारी आवश्यक रहेको भन्दै तीन तहमै सुझाव संकलन गर्न सुझाव दिए ।
अर्थ समितिले प्रि–बजेटको सम्बन्धमा सातवटै प्रदेशमा सुझाव संकलन गरेको छ ।
प्रतिक्रिया दिनुहोस्