२० श्रावण २०८२, मंगलबार | Tue Aug 5 2025


जंगलको फिरन्ते जीवन छाडेर समाजमा आएका राउटेलाई सकस (भिडियो)


0
Shares

दुर्गा उपाध्याय

कञ्चनपुर, वैशाख २६ । जंगलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायसँग सामाजिक जीवनयापनका लागि आवश्यक सीप र अभ्यास नहुँदा जीवनशैली परिवर्तन हुन सकेको छैन ।

सरकारले विशेष सुविधा उपलब्ध गराउँदै आए पनि उनीहरुसँग ज्ञान, सीप र अभ्यास नहुँदा बिहान बेलुका हातमुख जोर्नसमेत सकस भएको छ ।

जंगलमा फिरन्ते जीवन बिताउँदा लोपोन्मुख राउटे जाति शिक्षा, स्वास्थ्यलगायतका आधारभूत आवश्यकताबाट बञ्चित भए । जंगली जनावरको शिकार र कन्दमूल खाएर बाँचेका उनीहरुलाई अहिले सामाजिक जीवनमा गुजारा गर्न गाह्रो भएको छ ।

कुटोकोदालो गर्न र हलो जोत्नसमेत नजान्ने उनीहरुलाई आम्दानी गर्ने सीप नभएकाले जीवनयापन कष्टकर बनेको छ । सरकारले मासिक २ हजारका दरले दिने भत्ताले मात्रै खान नपुगेपछि समाजमा फर्किएका राउटे समुदाय अहिले पनि जंगलको तरुल, गिठा, भ्याकुर खान बाध्य छन् । 

भीमदत्त नगरपालिका–९, मटैनास्थित बैजनाथ सामुदायिक वनको जग्गामा १० वर्ष अघि बसाइ सरेका राउटे परिवारको घर सांसद् कोषबाट आएको रकमले बन्दै गरे पनि खाद्यान्न र सरसामानको जोहो गर्न हम्मेहम्मे परेको छ । उनीहरुको जीवनयापन सहज होस् भनेर सरकारले भत्ताको व्यवस्था गरेपनि त्यसले मात्रै परिवारिक खर्च धान्न कठिन भएको छ । 

सरकारले दिएको भत्ताकै भरमा जीपनयापन गर्दै आएका उनीहरुको जीवनयापनलाई सहज बनाउन सरकारले पहल गर्नुपर्ने स्थानीयको भनाइ छ ।

कञ्चनपुरमा राउटे समुदायका ८ परिवार छन् । जसमध्ये २ परिवारका ३ जनाको परिचयपत्र बन्न सकेको छैन । दुई घरमा संयुक्त रुपमा बस्दै आएका उनीहरुको ८ जना सदस्यको मासिक १६ हजार रुपैया भत्ता हुन्थ्यो । तर, ३ जनाको परिचय पत्र बन्न नसक्दा ५ जनाको भत्ताले ८ जनाको परिवार पाल्नु परेको छ । परिचय पत्र बनाउन जाँदा वडा सचिवले ५ हजार सिफारिस शुल्क माग गरेपछि रकम जुटाउन नसकेर परिचय पत्र नबनाएको उनीहरुको गुनासो छ ।

सरकारले भत्तामात्र दिनुभन्दा उनीहरुलाई सीपमूलक र आयआर्जनमूलक कार्यक्रमसमेत लागू गर्न सके त्यसले अझ सार्थकता पाउने थियो ।

भिडियो हेर्नुहोस्