काठमाडौं, जेठ ११ । स्वतन्त्र उर्जा उत्पादकको संस्था, नेपाल (ईपान)ले राष्ट्रिय उर्जा संकट निवारण तथा विद्युत् विकास दशक कार्ययोजना कार्यान्वयनका लागि बजेट विनियोजन गर्न माग गरेको छ ।
ईपानले विद्युत् विकास दशक अवधारणालाई आत्मसात् गर्दै उर्जा संकट निवारणका लागि कानुनी व्यवधान फुकाउन उर्जा संकट विधेयक व्यवस्थापिका–संसदबाट छिटो पारित गर्न पनि आग्रह गरेको छ ।
ईपानले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी आगामी बजेटमा उर्जा विकाससम्बन्धी सरकारलाई बुझाएको सुझाव सार्वजनिक गरेको हो ।
संस्थाले प्रबद्र्धकहरुको कन्सोर्टियममार्फत् प्रसारणलाइन तथा सवस्टेसन निर्माण ‘बीटी’ मोडलअन्तर्गत् गर्ने व्यवस्था गर्न पनि आग्रह गरेको छ ।
ईपानका अध्यक्ष खड्गबहादुर विष्टले विद्युत् प्राधिकरणले बिक्री गर्ने विद्युत् बिक्रीदर समायोजन हुँदा सोहीअनुपातमा निजी क्षेत्रबाट खरिद गर्ने विद्युत्मा पनि स्वतः परिवर्तन हुने व्यवस्था बजेटमार्फत् गर्न आग्रह गरे ।
ईपानले राष्ट्रिय उर्जा संकट निवारण तथा विद्युत् विकास दशकसम्बन्धी अवधारणापत्र २०७२ मा व्यवस्था गरिएका केही बुँदा समायोजन गर्न सुझाव पनि दिएको छ ।










प्रतिक्रिया दिनुहोस्