
सरोज अधिकारी/उत्तम मानन्धर (इमेज)
काठमाडौं, जेठ १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बोलाएको सर्वदलीय बैठक बहिस्कार गरेको मधेसी मोर्चाले प्रधानमन्त्रीले पठाएको पत्रबारे जानकारी नै नभएको दाबी गरेको छ ।
मोर्चाले सरकारले वार्ताका लागि पत्र पठाएकोबारे जानकारी नभएको भन्दै आफूहरुसँग वार्ताको वातावरण बनाउने विषयमा भएको सहमति कार्यन्वयन नहुँदासम्म वातार्मा नबस्ने जनाएको हो ।
मधेसी मोर्चाका संयोजकसमेत रहेका तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारी पत्रबारे आफूहरुलाई जानकारी नै नभएको बताए ।
सरकार मधेसको माग सम्बोधन गर्न गम्भीर नदेखिएको भन्दै ठाकुरले सन्चारमाध्यममा वार्ताको हल्ला गराएर सरकारले झुटको खेती गरेको आरोप लगाए ।
सरकारले मन्त्रिपरिषद बैठकबाट वार्ताका लागि आह्वान गर्दै सोमबार राति मोर्चालाई पत्र पठाएको थियो ।
मोर्चाभित्रै गठबन्धनबीच कुरा नमिलेर वार्तामा नगएको कुरालाईसमेत अध्यक्ष ठाकुरले खन्डन गरे ।
बैठकबारे प्रधानमन्त्रीले आफूसँग परामर्श नगरेको दाबी गर्दै उनले अनौपचारिक तवरमा प्रधानमन्त्री र मोर्चाका नेताहरुबीचमात्रै छलफल गर्ने कुरा भएको जानकारी दिए । (विस्तृत भिडियोमा हेर्नुहोस्)
प्रतिक्रिया दिनुहोस्