Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


संविधान कार्यान्वयन चुनौतीपूर्ण : पौडेल


0
Shares

तनहुँ, जेठ १३ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान कार्यान्वयन चुनौतीपूर्ण रहेको बताएका छन् ।

नेपाल प्रेस युनियन तनहुँ शाखाले बिहीबार दमौलीमा आयोजना गरेको प्रेस युनियनको २५औं वर्ष अर्थात् रजतवर्ष प्रवेश गरेको अवसरमा आयोजित ज्येष्ठ नागरिक सम्मान तथा फलफूल वितरण कार्यक्रममा नेता पौडेलले सो कुरा बोलेका हुन् ।

‘संविधान कार्यान्वयन गर्न कार्यतालिका नै बनाएर काम गर्नुपर्छ’–नेता पौडेलले भने–‘जगबाटै संविधान लागू गर्न सकेमात्रै संविधानको औचित्य हुनसक्छ ।’

गाउँ विकास समितिलाई गाउँपालिकामा रुपान्तरण गर्दै नगरपालिकादेखि प्रदेशसम्मको स्थानीय चुनावपछिमात्रै राष्ट्रिय चुनाव गर्न सकिने उनको भनाइ थियो ।

‘संविधान नबनुन्जेल संविधानको चिन्ता थियो’–नेता पौडेलले भने–‘अहिले त्यही संविधान कसरी लागू गर्ने भन्ने विषयमा समस्या खडा भएको छ ।’

व्यासनगरपालिका वडा नम्बर–८ चापाघाटमा महिलाले सन्चालन गरेको ज्येष्ठ नागरिक आश्रममा आश्रित १० जना ज्येष्ठ नागरिकलाई नेता पौडेलले दोसल्ला र फलफूलसमेत वितरण गरे ।

प्रेस युनियन तनहुँ शाखाका अध्यक्ष ओमकार आचार्यको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला अध्यक्ष बैकुण्ठ न्यौपाने, ट्रेड युनियन कांग्रेसका सूर्यचन्द्र हडखले, नेपाल पत्रकार महासंघ तनहुँ शाखाका कार्यबाहक अध्यक्ष समुन्द्र पौडेल, प्रेस युनियन पश्चिमाञ्चल संयोजक प्रदीप काफ्ले, फोटो पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोरा मिया, क्रान्तिकारी पत्रकार संघ तनहुँका अध्यक्ष एसवी नेपाली, प्रेस चौतारी तनहुँका अध्यक्ष नारायण खड्का, प्रेस सोसाइटीका केन्द्रीय सदस्य उज्ज्वल पौडेललगायतका वक्ताहरुले आ–आफ्ना धारणा व्यक्त गरेका थिए । रासस

फाइल फोटो