२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


पुनःनिर्माणमा एक खर्ब ४० अर्ब, हुलाकी राजमार्गलाई ७ अर्ब बजेट


0
Shares

काठमाडौं, जेठ १५ । नेपाल सरकारले भूकम्पपछिको पुनःनिर्माण गर्न आगामी आर्थिक वर्षका लागि रु एक खर्ब ४० अर्ब ६६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

व्यवस्थापिका–संसदमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको आव २०७३/७४ को राजस्व र व्ययको वार्षिक अनुमानमा पुनःनिर्माणलाई सरकारले प्राथमिकता दिएको जानकारी दिए ।

‘सामाजिक न्यायविरुद्ध रहेका गरिबी र पछौटेपनकोविरुद्धमा अबको हाम्रो लडाइँ हुने’ बताउँदै उनले विकास र समृद्धिको पक्षमा रहने गरी बजेट कार्यान्वयनको लक्ष्य राखिएको उल्लेख गरे ।

पूर्वबजेटको छलफलमा सांसदले दिएको सुझावलाई आत्मसात् गरेको बजेट निर्माण गरिएको बताउँदै अर्थमन्त्री पौडेलले संघीयताको संरचना तयार गर्न आवश्यक बजेट विनियोजन गरिएको जानकारी दिए ।

नेपालको संविधानअनुरुप सबै तहको निर्वाचन गरिने तथा स्थानीय निकायको राजनीतिक सहमति आगामी मंसिरमा गर्नसमेत बजेटको व्यवस्था मिलाइएको छ ।

सरकारले पुष्पलाल मध्यपहाडी लोकमार्गको निर्माण आगामी पाँच वर्षमा सम्पन्न गर्न बहुवर्षीय ठेक्का गर्ने भएको छ ।

त्यस्तै, डोल्पा सदरमुकामलाई आगामी एक वर्षमा र हुम्ला सदरमुकामलाई आगामी दुई वर्षमा सडक सञ्जालले जोड्ने गरी काम अघि बढाइने बजेटमा उल्लेख छ ।

सरकारले हुलाकी राजमार्गलाई समयमै सम्पन्न गर्न यस आवमा रु सात अर्ब रुपैयाँको व्यवस्था गरेको छ ।

पृथ्वी राजमार्गअन्तर्गत् सुरुङ निर्माण कार्य आगामी आवमा सुरु गरिने र त्यसका लागि रु एक अर्ब ८६ करोड विनियोजन गरिएको छ ।

सबै सडकलाई संघीय, प्रादेशिक र स्थानीय गरी वर्गीकरण गरिने बजेटमा उल्लेख छ ।

काठमाडौंमा मेट्रो रेल निर्माणका लागि सर्भेक्षण गरिने बताइएको छ । रासस