
काठमाडौं, जेठ १५ । सरकारले व्यवस्थापिका–संसदमा आर्थिक वर्ष २०७३/७४ का लागि सार्वजनिक गरेको बजेटले उत्पादनशील क्षेत्रमा लगानी बृद्धि गर्न नसकेकोमा विभिन्न अर्थशास्त्रीले चिन्ता व्यक्त गरेका छन् ।
रासससँगको कुराकानीमा विभिन्न युवा अर्थशास्त्रीले व्यवसायिक कृषि उत्पादन क्षेत्र तथा औद्योगिक क्षेत्रमा लगानी बृद्धि हुन नसकेको विचार व्यक्त गरे ।
अर्थशास्त्री राधेश्याम मालाकारले बजेटमा कृषि तथा जलविद्युत्मा गर्न लागिएको लगानीले रोजगारी सिर्जना गर्ने तथा त्यसले उत्पादनमुखी अर्थतन्त्र निर्माण गर्ने बताए ।
क्यानाडामा अर्थशास्त्रमा विद्यावारिधी गर्दै आएका मालाकार केही महिनाका लागि नेपाल आएका हुन् ।
उनले मुलुकमा संविधानको कार्यान्वयन, दिगो विकास तथा ठूला परियोजना सुरु गर्नका लागि बजेटकेन्द्रित हुन नसकेको बताए ।
मकवानपुर बहुमुखी क्याम्पसमा अध्यापन गर्दै आएका अर्थविद् भोजराज ढकालले मुलुकको अर्थतन्त्र कमजोर भएकाबेला ठूलो बजेट ल्याउन नहुने बताउँदै ठूलो बजेट ल्याउँदा विदेशी ऋणमा भरपर्नुपर्ने र दातृराष्ट्रको सर्त मान्नुपर्ने बाध्यताले राष्ट्रिय संकटमा पर्ने बताए ।
अर्का अर्थशास्त्री सुनिल खरेलले पूँजीगत खर्च नभएसम्म आर्थिक विकास सम्भव नरहेको बताउँदै मुलुकमा अहिले पैसाको अभाव नरहेकाले त्यसको उचित सदुपयोग गर्नुपर्ने सुझाव दिए ।
उनले मुलुकमा लगानीकर्तालाई प्रोेत्साहित गर्नेगरी विदेशी लगानीमा एकद्वार प्रणालीको स्थापना गर्न बजेटकेन्द्रित नभएको बताउँदै मुलुकको औद्योगिकरणलाई माथि उठाउन बजेटले ध्यान दिन नसकेको औंल्याए । रासस
प्रतिक्रिया दिनुहोस्