
काठमाडौं, जेठ १७ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको हिमाली पर्यटनको सम्भावनालाई विश्वभरका पर्यटक समक्ष पुर्याउन सकिए देशको आर्थिक विकासमा महत्वपूर्ण टेवा पुग्ने बताएका छन् ।
एभरेस्ट फ्युचर फाउन्डेसन’ ले आज प्रधानमन्त्री निवास बालुवाटारमा गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले सगरमाथालगायतका नेपालका हिम शृङ्खलाका विषयमा थप प्रचारप्रसार गर्नुपर्ने आवश्यकता रहेको बताए ।
उनले नेपालका पर्यटकीय स्थल तथा हिमशृङ्खला विदेशी पर्यटकका लागि आकर्षणको केन्द्र रहेकाले त्यस्ता स्थलको संरक्षणमा सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले ३ पटक सगरमाथाको सफल आरोहण गरेकी चिनियाँ नागरिक वाङ् जिङले लेखेको ‘साइलेन्स अफ दि समिट’ नामक पुस्तकको विमोचन गरे ।
पुस्तकमाथि टिप्पणी गर्दै प्रधानमन्त्री ओलीले महिलामा विद्यमान भ्रम चिर्नका लागि जिङ्को पुस्तक महत्वपूर्ण हुने बताए । उनले सार्वजनिक गरिएको पुस्तकले नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप उचाईमा पुर्याउने विश्वास व्यक्त गरे ।
कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत ऊ चुन्ताईले प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो चीन भ्रमणले दुई देशबीचको कुटनीतिक सम्बन्ध नयाँ शीराबाट अघि बढेको बताए ।
एभरेस्ट फ्युचर फाउन्डेसनका नेपाल अध्यक्ष फूर्वा ग्याल्जेन शेर्पाले फाउन्डेसनले नेपालको हिमाली क्षेत्रको शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा पुर्याएको सहयोगका बारेमा जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्