२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


कांग्रेसले किन गर्‍यो संसद अवरोध ?


0
Shares

काठमाडौं, जेठ १७ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण व्यवस्थापिका–संसद बैठक मंगलबार (भोलि)सम्मका लागि स्थगित गरिएको छ ।

बजेटमाथि छलफल गर्न सोमबार बसेको संसद बैठकमा कांग्रेस सांसदहरुले अर्थमन्त्री विष्णु पौडेलले बजेट सार्वजनिक गर्नुअघि नै चुहाएको भन्दै बैठक अवरुद्ध गरेका थिए ।

बैठकको सुरुमै कांग्रेस सांसद डा. रामशरण महतले बजेटको विवरण संसदमा पेश हुनुअघि नै सार्वजनिक भएकोमा आपत्ति जनाउँदै छानबिन गर्न माग गरे ।

उनले अर्थमन्त्रीले गोपनीयता भंग गर्दै सन्चारमाध्यम र व्यापारीहरुलाई वितरण गरेको भन्दै आपत्ति जनाए ।

डा. महतले बोलेपछि कांग्रेसका सबै सांसद आफ्नो आसनबाट उठेर विरोध जनाएका थिए ।

कांग्रेसको विरोधपछि सभामुख ओनसरी घर्तीले आधा घन्टाका लागि संसद बैठक स्थगित गरेक थिइन् ।

आधा घन्टाको स्थगनपछि पुनः सुरु भएको बैठकमा कांग्रेसका अर्का सांसद रमेश लेखकले छानबिनको माग गरे ।

त्यसपछि कांग्रेसका सबै सांसद आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएलगत्तै सभामुख घर्तीले दिउँसो साढे १ बजेसम्मका लागि पुनः बैठक स्थगित गरिन् ।

साढे १ बजे पुनः सुरु भएको बैठकको सुरुमै कांग्रेस सांसद महेश आचार्यले सोही माग दोहोर्‍याएका थिए ।

त्यसपछि सभामुख घर्तीले अपराह्न ३ बजेसम्मका लागि बैठक स्थगित गरेकी थिइन् । अपराह्न ३ बजे सुरु भएको बैठकमा पनि कांग्रेस सांसदहरुले अडान नछाडेपछि बैठक मंगलबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको हो ।

१९ गतेसम्म सांसदहरुलाई बजेटमाथि धारणा राख्न दिने र २० गते अर्थमन्त्रीले जवाफ दिने कार्यक्रम रहेको थियो ।

अर्थमन्त्री पौडेलले शनिबार १० खर्ब ४८ अर्ब रुपैयाँभन्दा बढीको बजेट सार्वजनिक गरेका थिए ।

फाइल फोटो