
काठमाडौं, जेठ २० । सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत् गरेको बजेटको सत्तारुढ दलका सांसदहरुले नै विरोध गरेका छन् ।
व्यवस्थापिका–संसदमा विहीबार बजेटमाथिको छलफलमा सहभागी हुँदै सत्तारुढ दलका सांसदहरले बजेटले झापा र रुपन्देहीलाईमात्र महत्व दिएको, कृषिमा कुनै नयाँ योजना नल्याएको भन्दै आपत्ति जनाएका छन् ।
नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले कर्णालीमा कुनै योजना नल्याइएको र झापा तथा रुपन्देहीलाईमात्र केन्द्रमा राखेको भन्दै आपत्ति जनाए ।
शान्तिप्रक्रिया टुंग्याउने सवालमा पनि बजेट अनुदार रहेको उनको भनाइ थियो ।
यस्तै, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले बजेट हावादारी भएको आरोप लगाए ।
उनले ‘१ प्रतिशतको हाराहारीमा पनि नभएको आर्थिकबृद्धि साढे ६ प्रतिशत पुर्याउने कुरा सम्भव छैन’–भने ।
अर्का कांग्रेस सांसद गगन थापाले बजेटले जलविद्युत्को विकासलाई पनि राम्रोसँग समेट्न नसकेको बताए ।
सरकारले छुट्याएको बजेट हेर्दा बुढीगन्डकी जलविद्युत् आयोजना बन्छ/बन्दैन यसै भन्न नसकिने थापाको भनाइ थियो ।
बैठकमा एमाले सांसद गोकर्ण विष्ट, राजेन्द्र पाण्डेलगायतले भने बजेटको बचाऊ गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्