काठमाडौं, जेठ २० । निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचनमा नेकपा एमालेनिकट कर्मचारीहरुको संगठन नेपाल निजामती कर्मचारी संगठनले वर्चश्व कायम गरेको छ ।
बुधबार भएको निर्वाचनमा देशभर ४२ विभागीय र ७५ जिल्ला कार्यसमिति गरी १ सय १७ स्थानको चुनावी परिणामअनुसार अधिकांश स्थानमा एमालेनिकट कर्मचारी संगठन विजयी भएको हो ।
नतिजाअनुसार नेपाल निजामती कर्मचारी संगठनले ८२ स्थानमा जित हासिल गरेको छ ।
दोस्रोमा रहेको नेपाली कांग्रेसनिकट नेपाल निजामती कर्मचारी युनियन २५ स्थानमा विजयी भएको छ ।
मधेसी पार्टीनिकट संगठन मधेसी निजामती कर्मचारी मन्चले ७ स्थानमा जित हात पार्दै तेस्रो हुँदा नेकपा माओवादी केन्द्रनिकट कर्मचारीहरुको संगठन नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती २ स्थानमा विजयी हुँदै चौथो भएको छ ।
निर्वाचनका लागि ७ कर्मचारी संगठनले उम्मेदवारी दर्ता गराएका थिए । निर्वाचनमा कार्यालय प्रमुख नरहेका शाखा अधिकृत र सोभन्दा तल्लो तहका ५५ हजार ३ सय २९ कर्मचारीले मतदान गरेका थिए ।
मतपरिणामपछि सम्बन्धित संगठनले तहअनुसार नै पदाधिकारीको नाम सिफारिस गर्नेछन् ।
मतका आधारमा पहिलो हुने संगठनले केन्द्रीय कार्यसमितिमा अध्यक्ष र कोषाध्यक्ष पाउनेछ । दोस्रोले महासचिव, तेस्रोले उपाध्यक्ष र चौथोले सचिव पद पाउनेछन् ।
१६ केन्द्रीय सदस्यका लागि प्राप्त मतका आधारमा पदको समानुपातिक वितरण हुनेछ ।
विभागीय र जिल्लाको हकमा भने पहिलो हुनेले अध्यक्ष, दोस्रोले उपाध्यक्ष र क्रमशः सचिव तथा सहसचिवको पद पाउनेछन् ।










प्रतिक्रिया दिनुहोस्