२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


अलैंची खेतीतर्फ कृषक आकर्षित, सरदर दुई हजार रुपैयाँ प्रतिकिलोमा बिक्री


0
Shares

लमजुङ, जेठ २३ । लमजुङका किसानहरु अलैंची खेतीतर्फ आकर्षित भएका छन् ।

अन्य खेतीभन्दा राम्रो आम्दानी हुन थालेपछि अलैंची खेतीका लागि कृषक त्यसतर्फ आकर्षित भएका हुन् । अलैंची बिरुवाको माग बढेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार किसानहरुले यस वर्ष ३५ लाख बिरुवा माग गरेका छन् ।

लमजुङ बाहेक जाजरकोट, दैलेख, बझाङ, सुर्खेत लगायतका जिल्लाका किसानले पनि १० लाख अलैंचीको बिरुवा माग गरेको बरिष्ठ कृषि विकास अधिकृत कृष्णभद्र अधिकारीले जानकारी दिए ।

कृषि विकास कार्यालयका अनुसार जिल्लाका सिउरुङ, भुलभुले, खाँचे, छिनखोला, भोंजे, घाम्राङ, पसगाउँ, गहते, फलेनी लगायत क्षेत्रमा अलैंची बिरुवा उत्पादन भैरहेको छ ।

२०४१ सालबाट अलैंची खेती सुरु गरिएको लमजुङमा हाल २८ गाविसको १ सय ९४ हेक्टर क्षेत्रफलमा खेती गरिएको छ । खेती गरिएकामध्ये १ सय ३५ हेक्टर क्षेत्रफलमा मात्र उत्पादन भएको थियो ।

यसबर्ष ६ सय २० क्विन्टल उत्पादन भई करिब १३ करोड रुपैयाँ आम्दानी भएको थियो । कृषि विकास कार्यालयले आगामी वर्ष जिल्लामा थप ५० लाख अलैंचीका बिरुवा विस्तार गर्ने योजना बनाएको छ ।

अलैंची व्यवसायी संघका अध्यक्ष अजय तामाङका अनुसार यसवर्ष प्रतिकिलो १ हजार ८ सयदेखि २ हजार १ सय ५० रुपैयाँसम्म अलैंची बिक्री भएको थियो ।

अलैंचीका बिरुवा भने प्रतिगोटा १० रुपैयाँमा बिक्री हुँदै आएको छ ।