२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


तिजी पर्वमा अहिलेसम्मकै उच्च विदेशी पर्यटक सहभागी


0
Shares

मुस्ताङ, जेठ २५ । उपल्लो मुस्ताङको साँस्कृतिक पर्व तिजीमा रमाउन अहिलेसम्मकै उच्च विदेशी पर्यटक पुगेको देखिएको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप)ले वैशाख २१, २२ र २३ गते सन्चालन भएको तिजी पर्वको अवसरमा ४४१ विदेशी पर्यटक लोमान्थाङ भित्रिएको जनाएको छ ।

विनाशकारी भूकम्पका कारण गत वर्षको तिजीमा विदेशी पर्यटकको संख्या शून्य थियो । हरेक वर्ष उपल्लो मुस्ताङका ६ गाविसका सर्वसाधारणले मनाउने तिजी पर्वमा पूजापाठदेखि साँस्कृतिक नृत्य सन्चालन हुने गर्दछ ।

सोही साँस्कृतिक नृत्यमा रमाउन विदेशी पर्यटक तिजीमा आउने गरेको एक्याप लोमान्थाङका प्रमुख तुलसीप्रसाद दाहालले जानकारी दिए ।

‘तीन दिनमा ४ सय ४१ विदेशी पर्यटक आउनु भनेको पर्यटकीय दृष्टिकोणले धेरै राम्रो हो, यो अहिलेसम्मकै उच्च संख्या हो’–उनले भने–‘यसभन्दा अघिका तिजीमा यसरी विदेशी पर्यटक आएका थिएनन् ।’

पर्यटकको चाप बढेसँगै लोमान्थाङ क्षेत्रमा सन्चालित साना तथा ठूला होटल पनि व्यस्त बनेका थिए ।

अघोषित नाकाबन्दी र विनाशकारी भूकम्पपछि पहिलोपटक पर्यटकको चाप बढेपछि यहाँका व्यवसायी उत्साहित बनेको प्रमुख दाहालले जानकारी दिए ।

१५औं शताब्दीदेखि उपल्लो मुस्ताङका गुरुङ र विष्ट समुदायले मनाउँदै आएको तिजीमा आपसी स्नेह साटासाट, विश्वशान्ति र दैवीप्रकोप कम होस् भन्ने कामना गरिन्छ ।

विदेशी पर्यटकलाई स्थानीय पहिरनमा सजाएर नाचगान गराउने भएकाले उनीहरु उत्साहित हुने लोमान्थाङका फुर्वा गुरुङले जानकारी दिए ।

‘यो पर्वमा हामीले विदेशी पर्यटकलाई सम्मान दिनुकासाथै हाम्रो नृत्यमा समावेश गराउँछौं’–उनले भने ।

यो पर्व मनाउन अमेरिका र अष्ट्रेलियाका पर्यटक बढी आउने एक्यापले जनाएको छ । रासस

फाइल फोटो