
रत्नप्रसाद आचार्य (इमेज)
सुनसरी, जेठ २५ । सुनसरीको धरानस्थित सेउती खोलामा अनाधिकृतरुपमा स्काभेटर प्रयोग गरी ढुंगा, गिटी र बालुवा तस्करी गरिएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ ।
जिविस सुनसरीले मापदन्डविपरीत सेउती खोलामा ढुंगा, बालुवा निकाल्ने अनुमति दिएपछि अख्तियारको पूर्वाञ्चल क्षेत्रीय कार्यालय इटहरीले छानबिन प्रक्रिया अगाडि बढाएको हो ।
खोलानाला क्षेत्रमा पर्ने बाटो र पुलभन्दा ५ सय मिटर वरपर ठेक्का लगाएर नदीजन्य पदार्थ उत्खनन् गर्न प्रतिबन्ध लगाएको अवस्थामा सुनसरी जिविसले सेउती खोलाको निषेधित क्षेत्रमा ठेक्का दिएको थियो ।
अख्तियारले सुनसरीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर चापागाइँ, अञ्चल प्रहरी कार्यालय कोसीका प्रमुख एसपी पवन खरेल र जिल्ला विकास समितिको कार्यालय सुनसरीसँग पनि लिखित जवाफ मागेको छ ।
नियमविपरीत सेउती खोलामा ठेक्का लगाएपछि ठेकेदार भीम पौडेलले दुईओटा स्काभेटर लगाएर सेउती खोला खन्ने काम गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्