काठमाडौं, वैशाख २३ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेता महन्थ ठाकुरले नेपाली ठहरिनका लागि पहाडी परिवारमै जन्मिनुपर्ने हो ? भन्दै प्रश्न गरेका छन् ।
प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि भएको छलफलमा भाग लिँदै नेता ठाकुरले मधेशी परिवारमा जन्मिए मधेशी कहलाइए यसकै आधारमा मेरो राष्ट्रियता माथि बारम्बार प्रश्न गर्ने अधिकार कस्ले दियो ? भने ।
नेता ठाकुरले ‘नागरिकताको कुरा सुन्नासाथ हाम्रो त दम घुट्छ, सास लिने अवस्था हुँदैन । आफ्नै घरमा, आफ्नै खेत र खलियानमा हामीले विदेशीको पीडा भोग्नु परिरहेको छ । कृपया यस किसिमको प्रश्न उठाउँदा पुरानो माइन्डसेटलाई तोड्नुपर्छ ।’ भने ।
नागरिकताको विषय उठ्नासाथ भारतीयहरु लाइनमा छन् भनेर प्रचार गर्ने गरिएको भन्दै उनले भारतीयले नेपाली नागरिकता लिइरहेका भए दिने सरकारी अधिकारी को हुन्, के हेरेर बसेका छन् प्रश्न गरे ।
‘नागरिकताको सवाल उठ्दा जहिले पनि भारतीयहरु लाइन लागिरहेको छ भनिन्छ । यदि लाइनमा भारतीय हुन्छ भने, दिने कुर्सीमा को बसेको हुन्छ ? गृहमन्त्रालयमा को बसेको छ ? त्यहाँ पनि इन्डियनहरु नै हो ? नागरिकता दिने पनि इन्डियनहरु हो ? उनीहरुले आफ्नो नागरिकलाई चिनिरहेको छैन ?’ उनको प्रश्न थियो ।
नेताहरुले नै पहाडी र मधेशीबीच विभेद गरेको आरोप लगाउँदै उनले आफ्नो भाग्यमाथि नै प्रश्न उठाए । ‘पहाडी परिवारमा जन्मिएको भए सायद मेरो पनि भाग्य हुन्थ्यो, नेपाली भन्ने सौभाग्य प्राप्त हुन्थ्यो,’ नेता ठाकुरले भने, ‘तर मधेसी परिवारमा जन्मिएको हुँ, मधेसी भन्नुहुन्छ, अहिलेसम्म त्यो विभेद हटेको छैन ।’
नेता ठाकुरले संघीयता कागज र नक्शामा मात्रै सीमित बनाउने काम भैरहेको भन्दै राज्य झनै निरंकुश बन्दै गएको अनुभूति भैरहेको बताए ।
ठाकुरले सिंहदरवार अहिले निरंकुशताको जीवित रुपका रुपमा देखिएको टिप्पणी गरे उनले भने, ‘‘सिस्टम बदलिएको छ, तर राज्य पहिलेभन्दा बढी निरंकुश भएको छ । उसको चरित्रमा कुनै परिवर्तन भएको छैन ।’
कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार र हत्या भएको घटनालाई उदाहरणका रुपमा प्रस्तुत गर्दै उनले निर्मलाको बलात्कार र हत्यामा संलग्नमाथि कारवाहीको माग गर्दै प्रदर्शन हुँदा गोली लागेर मानिसको मृत्यु भएको, कयौं घाइते भएको जिकिर गरे ।
‘पहिला सिंहदरवारलाई निरंकुशताको प्रतिक भनिन्थ्यो,’ उनले भने, ‘अहिले सिंहदरवार निरंकुशताको जीवित रुप देखिन्छ । न्याय माग्दा गोली खानु परेको छ ।’
उनले प्रश्न गरे– ‘यही लोकतन्त्रका लागि हामीले संघर्ष गरेको हो ?’
गणतन्त्र छ, संघीयता संविधानमा भए पनि व्यवहारमा नदेखिएको उनले बताए । प्रदेशहरुले अधिकार पाउन नसकेको उनको भनाइ थियो । ‘कागजमा कोरिएका छन् तर व्यवहारमा परिवर्तन देखिएका छैनन्,’ उनले भने ।
समानताको बारेमा बारम्बार भाषण सुनिने गरेको उल्लेख गर्दै उनले भने, ‘समानताको कुरा गर्नु हुन्छ तर कहाँ छ समानता ?’









प्रतिक्रिया दिनुहोस्