२० श्रावण २०८२, मंगलबार | Tue Aug 5 2025


मच्छिन्द्रनाथ रथारोहण


0
Shares

ललितपुर, वैशाख २२ । सहकाल र वर्षाका देवता मानिने रातो मच्छिन्द्रनाथलाई आज साँझ ६ बजेर ९ मिनेटमा रथारोहण गरिएको छ ।

ललितपुरको कटुवाल दहबाट मच्छिन्द्रनाथलाई कलशमा छोपेर विभिन्न विधिपूर्वक तःबहालस्थित मन्दिरमा महिलाले बोकेर ल्याई तान्त्रिक विधिद्वारा प्राण हालेपछि आठ पानेजुमध्ये चारचार जनाले पूजाआजा र बाजागाजासहित खटमा राखेर पुल्चोक पु¥याई रथमा विराजमान गराइएको हो । रथारोहणमा हजारौँ भक्तजनको सहभागिता थियो । 

मच्छिन्द्रनाथ बोकिएको खट अगाडि मुख्य गुरुज्यू दाहिने हातमा ऊ लेखेको ‘ज्वालान्याक’ नामक थाली आकारको भाँडो र बज्र बोकी बायाँ हातले शङ्खघण्टा बजाएर मच्छिन्द्रनाथ अघि हिँडाउने चलन भएको मन्दिरका ५८ वर्षीय पुजारी भुवनराज शाक्यले जानकारी दिए । ‘साँझमा भगवान् बोक्ने आठ जना गुरुज्यू अर्थात् पानेजुले नियमपूर्वक व्रत बसेर भगवानलाई लानुपर्ने हुन्छ,’ शाक्यले भने, ‘भगवान् बोक्दा यी गुरुले हिँड्दा शिरमा टोपी र खुट्टामा जुत्ता लगाउनु भने हुँदैन ।’

यक्षराजका १०८ छोरामध्ये मच्छिन्द्रनाथ सबैभन्दा सानो अर्थात् कान्छो हुन् भन्ने परम्परा नेवारी समुदायमा छ । आजको चार दिन अर्थात् बुधबार ४ बजेपछि मच्छिन्द्रनाथको रथ तान्न शुरु गरिने शाक्यले बताए । रथारोहणपछि सोमबार नेवार समुदायले मच्छिन्द्रनाथलाई अन्न चढाएर नातागोता इष्टमित्र डाकी भोज खुवाएर भुज्या पर्व मनाउने गर्छ । 

पाटनमा तिब्बती र लामा 

मच्छिन्द्रनाथको जात्रा शुरु हुनु केही दिनअघिदेखि पाटनमा तिब्बती र लामाको सङ्ख्या बढ्न थालेको छ । सो समुदायले मच्छिन्द्रनाथलाई विशेष गरी अन्नदाताका रुपमा पुज्ने भएकाले नेवारी परम्परासँग उनीहरुको पर्व केही मेल हुन आउने पुजारी शाक्यले बताए । ‘म मन्दिरमा पूजा गर्न बसेको आज १८ दिन भयो, यस अवधिभर करीब १०० जना टिबेटिएनले तःबहालको मच्छिन्द्रनाथ दर्शन गरिसकेका छन्,’ शाक्यले भने, ‘मन्दिरमा आएर आफूसँग भएको माला घुमाउने, मन्त्र उच्चारण गर्दै मन्दिर परिक्रमा गर्ने, भूइँमा हात राखेर भगवान् दर्शन गर्ने काम यी जातिले गर्ने गरेका छन् ।’

जात्रा अवधिभर लगभग एक हजार लामा र तिब्बती नेपाल आउने अनुमान छ । गत वर्ष एक हजार लामा र तिब्बती नेपाल भित्रिएको बताइएको छ । (रासस)