
काठमाडौं, वैशाख २२ । आज विश्व हाँसो दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ ।
मावन जातिको लागि नभई नहुने कुरा भनेर सम्झाउन हाँसो दिवस मनाउन सुरु गरिएको हो ।
भनिन्छ, दिल खोलेर हाँस्ने व्यक्तिको स्मरण शक्ति पनि बढ्छ । हाँसोलाई तनावको औषधी पनि मानिन्छ । कुनै पनि चिकित्सा प्रणालीले निको नभएको रोगसमेत हाँसोले निको बनाउँछ भन्ने मान्यतासमेत रहँदै आएको छ । खुसीको संकेत नै हाँसो हो । हाँसोलाई स्वास्थ्यसँग पनि जोडिएको छ ।
धेरै हाँस्ने व्यक्ति लामो समय बाँच्ने र निरोगी हुने चिकित्सकहरुले समेत बताउँदै आएका छन् । जो हाँस्न जान्दैनन्, त्यो बाँच्न जान्दैनन् भन्ने नारा सहित आएका योगी डा. विकाशानन्द सबैलाई खुसी हुन र हाँस्न आग्रह गर्छन् । दिनको दुई घण्टा नियम बनाएर हाँस्यो भने कुनै पनि प्रकारको रोग नलाग्ने उनी बताउँछन् ।
आर्थिक उपार्जन, स्वास्थ्य आर्जन र सामाजिक सम्बन्धलाई जोगाईराख्न पनि हाँसोको ठुलो महत्व छ । भौतिक सम्पत्तिले दिन नसकेको खुसी हाँसोले दिन्छ । जो व्यक्ति हाँस्न सक्दैन, जतिसुकै सम्पती र पैसा भए पनि खुसी हुन नसक्ने योगी विकाशानन्द बताउँछन् ।
साना साना पीडामा पनि ठुला ठुला अवसरहरु हुन्छन् भन्दै उनले युवाहरुलाई बेरोजगार भए भनेर निराशामा नबस्न सुझाव दिए ।
दिनको एक घण्टा समयमात्र पनि आफ्नालाई छुट्याउने, हरेक समस्या र पीडामा पनि फाईदा खोज्न थाल्यौँ पनि हामी खुसी हुन सक्छौं । हाँस्दा शरीरका सबै अंग कार्यशील हुन्छन् जसका कारण मानिसको दैनिकी समेत राम्रो हुन्छ ।
अमेरिकामा भएको अध्ययनलाई जोड्दै योगी विकाशानन्द बिहेलाई टिकाईराख्न पनि हाँसो आवश्यक भन्छन् ।
हाँसो आफैँमा सरल तर गहन अर्थ बोकेको शब्द हो । सामान्य रुपमा हेर्दा सजिलो लाग्ने तर व्याख्या गर्न भने सरल शब्द होइन हाँसो । हाँसोलाई सफलताको सुत्र पनि मानिन्छ, त्यसैले आफुलाई चिनौं, बुझौं र जानौं, हासौं, स्वस्थ बनौं ।
हाँसोबारे विवेकानन्दको तर्क भिडियोमा
प्रतिक्रिया दिनुहोस्