
नवलपुर, वैशाख २२ । नेपालमा हाल सञ्चालनमा रहेका गुरुकुलका आचार्यहरूका लागि शाश्वतधाम नवलपुरमा ५ दिने आचार्य स्वाध्याय वर्ग सम्पन्न भएको छ ।
गुरुकुलका सञ्चालक आचार्यहरूलाई उत्साहित र क्रियाशील बनाउनुका साथै आगामी कार्यदिशा तय गर्ने उद्देश्यका साथ सञ्चालित स्वाध्याय वर्गमा देशभरका करीव १०० गुरुकुलका प्रतिनिधिको सहभागिता थियो ।
नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. कुलप्रसाद कोइरालाले आचार्य स्वाध्याय वर्ग उद्घाटन गर्दै गुरुकुल परम्परा नेपालको विशिष्ट पहिचान भएकोले यसलाई सबैले जोगाउनुपर्नेमा जोड दिएका थिए ।
नेपाल शिक्षण परिषद्का अध्यक्ष डा. रामकृष्ण तिमल्सिनाको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा परिषद्का अन्तर्राष्ट्रिय समन्वयकर्ता डा.गुरुप्रसाद सुवेदीले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए भने गुरुकुल प्रभागका संयोजक डा.श्रीराम अधिकारीले पाँच दिने कार्यतालिका एवम् यसले आचार्यहरुमा ल्याउने ज्ञान तथा सीपगत गहिराइका सम्बन्धमा चर्चा गरेका थिए ।
प्रा.डा. विद्यानाथ कोइराला, काठमाडौं विश्वविद्यालयका प्रशासकीयप्रमुख मुकुन्द उपाध्याय, चौधरी ग्रुपका वरिष्ठ महाप्रवन्धक तथा शाश्वतधाम प्रमुख नारायण श्रेष्ठले शुभकामना मन्तव्य दिएका थिए ।
गुरुकुलका आचार्यहरूको प्रशिक्षणको रूपमा सञ्चालित स्वाध्यायवर्गमा प्रत्येक दिन विहान ५ बजेदेखि प्राणविद्याको चिन्तन, योगानुशासन, सामूहिक सन्ध्योपासनसँगै यज्ञानुष्ठान समेतका विभिन्न कार्यक्रमहरू सम्पन्न भएका थिए । कार्यक्रमको दोस्रो, तेस्रो, चौथो दिनमा शिक्षाविद् प्रा.डा.विद्यानाथ कोइराला, भारतीय दूतावासका प्रथम सचिव एवं विवेकानन्द सांस्कृतिक अध्ययन केन्द्रका प्रमुख डा. केदारनाथ शर्मा, पाणिनीय व्याकरणका विद्वान डा. भोलानारायण रेग्मी, भाषाशास्त्री डा. प्रेमप्रसाद चौलागाई समेतले कार्यपत्रहरू प्रस्तुत गरेका थिए भने परिषद्का अध्यक्ष डा.रामकृष्ण तिमिल्सिना, काठमाण्डौ विश्वविद्यालयका प्रमुख प्रशासकीय अधिकृत मुकुन्द उपाध्याय, संस्कृतिविद् डा. गोविद टण्डन, वयतु संस्कृतम्का अध्यक्ष डा. बद्री पोखरेल, स्वामी केशवानन्द गिरी, स्वामी सुभाव चैतन्य, अच्युत प्रपन्नचार्य, स्वामी, केशव चैतन्य, लौरेश्वर बाबा, यागी अमरनाथ, सहप्रा. डा. मतिप्रसाद ढकाल, तुलसीशरण सिग्देल, मोहन लामा, गोदा सुवेदी, पुण्यप्रसाद तिमल्सिना लगायतले विभिन्न विषयमा प्रशिक्षण दिएका थिए ।
भारतबाट आएका शिक्षणमण्डलका संगठन महामन्त्री मुकुल काटनिकर, संयुक्त महामन्त्री प्रा.डा. उमाशंकर पचौरी, गुरुकुल प्रकल्पका सहसंयोजक डा. दीप कोइरालाले गुरुकुलशिक्षाका सम्बन्धमा मार्गदर्शन गरेका थिए ।
भारतीय शिक्षणमण्डलका अखिल भारतीय संगठन महामन्त्री मुकुल काटनिकरले समापन समारोहलाई सम्बोधन गर्दै आधुनिक शिक्षापद्धतिबाट असन्तुष्ट भएको आजको विश्व समुदायले मानवताको रक्षाका लागि गुरुकुल शिक्षालाई स्वीकार गर्न चाहिरहेको बताए । उनले आगामी १५ वर्षमा गुरुकुल शिक्षा विश्वभर मूलशिक्षाको रुपमा स्थापित हुने दाबीसमेत गरे ।
कार्यक्रममा शाश्वतधामका प्रमुख कार्यकारी नारायण श्रेष्ठले शाश्वतधामका उद्देश्य र विभिन्न गतिविधिको चर्चा गर्दै शाश्वतधामका समग्र योजनाबाट सनातन धर्म र संस्कृति जगेर्ना गर्न टेवा पुग्ने विश्वास व्यक्त गरे । सनातन शाश्वत संस्कृतिको संरक्षणका लागि हिन्दु, बौद्ध, जैन, सिख लगायत ओंकारपरिवारभित्रका सबै धर्म संस्कृतिहरुको साझा गन्तव्यको रुपमा शाश्वतधामलाई विकसित गर्दै लाने चर्चा गर्दै उनले यसका लागि सबैसँग सहकार्य गर्न शाश्वतधाम तयार रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्