
भक्तपुर, जेठ ३२ । डिभिजन सडक कार्यालय भक्तपुरले जिल्लाका तीन ठूला सडकको विस्तार थालनी गरेको छ ।
कौशल्टार–बालकोट–बिरुवा सडक, विष्णुकुन्ड–सिद्धिकालीचोक–पुरानोबाटो–थिमी सडक र बाखाहा बजारबाट हुलाक रोड हुँदै नगरपालिका कार्यालय– मिलरोड–मनोहरा खोलासम्मको सडक विस्तार सुरु गरिएको हो ।
एक साताका अवधिमा तीनओटै सडकको विस्तारको शिलान्यास गरी काम सुरु गरिएको डिभिजन सडक कार्यालयका प्रमुख इन्जिनियर देवेन्द्र साहले जानकारी दिए ।
कौशलटारबाट बालकोट हुँदै बिरुवा जाने सडकमध्ये पहिलो चरणमा रु तीन करोड ७९ लाख ७८ हजारको लागतमा कौशलटारदेखि बालकोटसम्मको एक किमी सडक विस्तार गरिने भएको छ ।
त्यसपछि अर्को चरणमा बालकोट हुँदै सिरुटार बिरुवासम्म सडक विस्तार हुनेछ ।
त्यसैगरी, अरनिको राजमार्गस्थित थिमी चारदोबाटोबाट विष्णुकुन्ड– सिद्धिकालीचोक हुँदै पुरानोबाटो थिमी सडक विस्तार पनि सुरु भएको छ ।
रु चार करोड नौ लाख ३९ हजार ३८६ को लागतमा डेढ किमी सडक विस्तार सुरु भएको प्रमुख साहले जानकारी दिए ।
त्यसैगरी, पुरानो ठिमी–बाखाहा बजारबाट हुलाक रोड हुँदै नगरपालिका कार्यालय–मिलरोड–मनोहरा खोलासम्मको पौने तीन किमी सडक पनि विस्तार सुरु गरिएको छ ।
रु १० करोड ६१ लाख ६४ हजार ७१४ का लागतमा निर्माण सुरु भएको हो ।
तीनओटै सडक आगामी दुई वर्षभित्र बनाइने सम्झौता भएको जानकारी दिँदै इन्जिनियर साहले सडक मापदन्डभित्र रहेका भौतिक संरचना भत्काएर विस्तार गरिने ती सडकमा दुबैतर्फ फुटपाथ, ढल, सात मिटर कालोपत्रे, निकास र ढलको व्यवस्था हुने बताए । रासस
फाइल फोटो
प्रतिक्रिया दिनुहोस्