
काठमाडौं, जेठ ३२ । व्यवस्थापिका–संसद, अर्थ समितिले कर्मचारी सञ्चयकोष नवौं सशोधन विधेयक, २०७१ लाई मंगलबार पारित गरेको छ ।
उक्त विधेयकका सम्बन्धमा सुझावसहितको प्रतिवेदन पेस गर्न गठित उपसमितिको प्रतिवेदनलाई समितिले सामान्य संशोधनपछि पारित गरेको हो ।
कोषले आफैं वा अरु संस्थासँग मिलेर विश्वविद्यालय, शिक्षण अस्पताल, मेडिकल कलेजसहित शैक्षिकक्षेत्र, औषधि र ऊर्जा उत्पादन तथा पर्यटन, कृषि, विकासमा लगानी गर्नसक्ने प्रावधान प्रतिवेदनमा समेटिएको छ ।
पारित प्रतिवेदनमा कोषले सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको कुनै निकायद्वारा प्रर्वधित ऊर्जा उत्पादन, प्रसारण, पर्यटन, कृषि, विकास र अन्य पूर्वाधार निर्माणसँग सम्बन्धित कम्पनीका सेयरमा लगानी गर्नसक्ने व्यवस्थाका लागि विधेयकमा प्रस्ताव गरिएको छ ।
चिया बगानका श्रमिक तथा सहकारी संघ–संस्थामा कार्यरत् कर्मचारीलेसमेत कोषमा आफ्नो आम्दानीको कोष कट्टा गर्नसक्ने व्यवस्था विधेयकमा अघि सारिएको छ ।
सञ्चयकर्ताले मासिक पारिश्रमिक रकमबाट कोषमा जम्मा गर्ने र कानुनअनुसार थप हुने रकम कोषमा जम्मा गर्ने जिम्मेवारी लिएको कर्मचारीले दाखिला गरेको नपाइएमा त्यो व्यक्तिबाटै रकम असुल गर्ने व्यवस्था गरिएको छ ।
उक्त व्यक्तिबाट सञ्चयकर्ताको सम्पूर्ण रकम असुल हुन नसकेमा त्यस्तो कर्मचारीको अन्य चलअचल सम्पत्तिबाट सरकारी बाँकीसरह असुल गर्ने प्रावधानका लागि सिफारिस गरिएको छ । रासस
प्रतिक्रिया दिनुहोस्