
काठमाडौं, वैशाख २१ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरुद्ध विभिन्न षडयन्त्र भइरहेको बताएका छन् ।
मुस्लिम आयोगले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा उनले सरकारविरुद्धको षडयन्त्र छाडेर मुलुक निर्माणमा लाग्न आग्रह गरे ।
उनले अधिकारको लडाइँ सकिएको भन्दै विकासको कामलाई गति दिनका लागि एकजुट हुन आह्वान गरे ।
केही समूह सरकारलाई असफल बनाउन लागिपरेको भन्दै प्रधानमन्त्री ओलीले सरकारले आफ्नो लक्ष्य पूरा गरेरै छाड्ने बताए ।
मुस्लिमहरुको अधिकारका लागि सरकार प्रतिबद्ध रहेको भन्दै उनले समृद्ध नेपाल निर्माणमा भूमिका खेल्न आग्रह गरे ।
मुस्लिम आयोगका अध्यक्ष समिममियाँ अन्सारीले मुस्लिमहरुको अधिकारका लागि सबै एकजुट हुनुपर्ने आवश्यकता औंल्याए ।
उनले कटौती भएको मुस्लिम समुदायको बिदालाई सरकारी मान्यता दिन प्रधानमन्त्रीसँग आग्रह गरे ।
कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, प्रदेश नम्बर–२ का मुख्यमन्त्री लालबाबु राउतलगायत मुस्लिम अगुवाहरुले मुस्लिम अधिकारकाबारेमा धारणा राखेका थिए ।
प्रतिक्रिया दिनुहोस्