
-कविराज घिमिरे, ईमेज
धनकुटा, असार १ । धनकुटाको सिम्सुवास्थित नमस्ते झरनामा आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी पानीको साहसिक खेल क्यानोनिङ सुरु गरिएको छ । जसले नमस्ते झरनामा थप आन्तरीक र बाह्य पर्यटक तान्ने विश्वास गरिएको छ ।
नेपाल घुम्न आएका जर्मन नागरिक थोमस धनकुटास्थित नमस्ते झरनामा क्यानोनिङ्ग गर्न पाउंदा निकै उत्साहित देखिन्थे ।
रक क्लाईमिङ्ग, र्याफ्टीङ्ग लगायतका साहसिक खेल खेलिसकेका थोमसले जलको साहसिक खेलको रुपमा लिईने क्याननिङ्ग भने यो नै पहिलो थियो । त्यसैले पनि डोरीको सहायतामा झरनाको पानी संगै रमाउंदै झर्न पाउंदा उनि निक्कै नै खुसी थिए ।
थोमस मात्रै हैन यो साहसिक खेल देखेर झरना हेर्न आएका अन्य पर्यटक पनि निकै उत्साहित देखिन्थे । स्थानीयको पहलमा पर्यटन बिकास कार्यालय कांकडभिट्टाले क्याननिङ्गका लागि आबश्यक पुर्बाधार निर्माण गरि दिए पछि धरानस्थित तमोर एड्भेन्चर प्रालिले यो खेल सुरु गरेको हो ।
क्यानोनिङ्ग प्रति युवाहरुको निकै आकर्षण रहेकाले यो खेल सुरु गरिएको तमोर एड्भेन्चर प्रालिका क्यानोनिङ्ग गाईड सेतु बताउँछन् ।
कोशी राजमार्ग अन्तर्गतको सिम्सुवागोलाई बाट करिब एक किलो मिटरको दुरीमा रहेको सो झरना हेर्न नेपालसंग सिमा जोडिएको भारतीय शहर सहित तराईका झापा, मोरङ्ग, सुनसरी लगायतका जिल्लाबाट पर्यटक आउने गरेका छन् ।
पछिल्लो समय आन्तरिक पर्यटकको मुख्य आकर्षणको केन्द्र बन्दै गएको सो झरनामा क्याननिङ्गले थप आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने झरना ब्यबस्थापन समितिका अध्यक्ष दिलिप लिम्बु बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्