Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


२० स्थानीय तह, दमकल दुई


0
Shares

प्रकाश मैनाली (इमेज)

सर्लाही, वैशाख २१ । सर्लाहीका अधिकांश स्थानीय तहले दमकलको व्यवस्था गर्न नसक्दा आगलागी नियन्त्रणमा समस्या हुने गरेको छ ।

जिल्लाका २० ओटा स्थानीय तहमध्ये दुईओटासँगमात्र दमकल छन् भने अरु स्थानीय तह पनि तिनै दमकलको भरमा पर्ने गरेका छन् ।

११ नगरपालिका र ९ गाउँपालिकामध्ये मलंगवा नगरपालिका र हरिवन नगरपालिकासँगमात्र दमकल छन् ।

कच्चीसडक हुँदै २५/३० किलोमिटर टाढासम्म दमकल पुर्‍याउनुपर्दा पटक–पटक बिग्रने गरेकाले सन्चालनमा समस्या भएको उनीहरुले गुनासो गर्दै आएका छन् ।

मलंगवा नगरपालिकाका प्रमुख निरसल साहले पुरानो दमकल जिल्लाभर दौडाउनुपर्दा समस्या भइरहेको बताए ।

एक महिनाअघि सदरमुकाम मलंगवामा आगलागी हुँदा २५ किलोमिटर टाढा हरिवन नगरपालिकाको दमकल मगाउनुपरेको थियो । पुरानो भएकाले मलंगवा नगरपालिकाको दमकल पटक–पटक बिग्रने गरेको बताइएको छ ।

त्यस्तै, हरिवन नगरपालिकाको दमकलसमेत दक्ष जनशक्तिको अभावमा कतिपय अवस्थामा चलाउन समस्या हुने गरेको छ ।

हरिवन नगरपालिकाका प्रमुख गणेश प्रसाइँले मर्मत–सम्भारमा लाग्ने चर्को खर्च र सीमित कर्मचारीलाई घन्टौं काममा लगाएर दमकल चलाउन समस्या भइरहेको बताए ।

स्थानीय तहका जनप्रतिनिधिले आफ्नो सुविधाका लागि सवारी खरिद गरेको तर अत्यावश्यक दमकल राख्न चासो नदिएको गुनासो स्थानीयले गर्दै आएका छन् ।