
काठमाडौं, असार २ । नेपाल धितोपत्र बोर्डले पुँजी बजारमा लगानी गर्दा सर्तकता अपनाउन लगानीकर्ताहरुलाई पुनः आग्रह गरेको छ ।
बोर्डले विहीबार विज्ञप्ति जारी गर्दै धितोपत्रमा गरिने लगानी जोखिमरहित नहुने हुँदा समग्रमा देशको अर्थतन्त्र, सूचीकृत संगठित संस्थाहरुको कार्यसम्पादन/वित्तीय स्थिति लगानीकर्ता स्वयंको जोखिमबहन गर्ने क्षमता आदिलाई हेरेर धितोपत्रमा लगानी गर्न उपयुक्त हुने जनाएको छ ।
‘धितोपत्रको दोस्रो बजार सूचाकांक तथा कारोबार रकममा भैइरहेको बृद्धिले लगानीकर्ताहरु दोस्रो बजार कारोबारप्रति आकर्षित भएको देखिन्छ ।
पुँजी बजारमा सहभागी भइ लगानी गर्नु लगानीकर्ताहरुको हक हो भने लगानीकर्ताहरुलाई बजार, सूचीकृत संगठित संस्थाहरु एवं अर्थतन्त्रको यर्थाथ स्थिति अवगत गराइ उनीहरुको हक–हितको संरक्षण गर्ने जिम्मेवारी बोर्डको रहेको’ पनि जनाइएको छ ।
‘हाल सूचीकृत संगठित संस्थाहरुको कार्य सम्पादन/वित्तीय स्थिति सामान्यस्तरमा तथा समग्रमा देशको आर्थिक बृद्धि १ प्रतिशतभन्दा तल रहेकोमा धितोपत्र बजारको सूचकांक नेप्से इन्डेक्स निरन्तररुपमा बढ्दै उच्चबिन्दूमा आइसकेको छ ।
यसरी समग्र अर्थतन्त्र सामान्य रही नेप्से इन्डेक्समात्र बढ्दै जाँदा बजारको जोखिम पनि उत्तिकैरुपमा उल्लेख्यरुपमा बढ्दै गइरहेको छ ।
‘यसरी बजारमा बढ्दै गएको जोखिमसमेतलाई दृष्टिगत गरी आफ्नो लगानीसम्बन्धी विवेकपूर्ण निर्णय लिन नेपाल धितोपत्र बोर्ड आम लगानीकर्ताहरुलाई अनुरोध गर्दछ’–विज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया दिनुहोस्