Logo ३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026


अप्परमाईको उत्पादन राष्ट्रिय प्रसारणलाइनमा जोडियो


0
Shares

इलाम, असार ४ । इलाममा पञ्चकन्या माइभ्याली हाइड्रोपावर कम्पनीले सन्चालन गरेको ८ दशमलव ९८ मेगावाट क्षमताको अप्परमाई जलविद्युत् आयोजनाको उत्पादन राष्ट्रिय विद्युत् प्रसारणलाइनमा जोडिएको छ ।

दुई महिनाको आन्तरिक परीक्षणपछि कावेली कोरिडोरको गोदकस्थित सवस्टेसनमा अप्परमाईको विद्युत् प्रवाह भएको हो ।

अप्परमाईको उत्पादन सुरू भएसँगै जिल्लाको कुल विद्युत् उत्पादन क्षमता ५२ मेगावाट पुगेको छ ।

‘सबै प्रकारको परीक्षण सफल भएपछि राष्ट्रिय प्रसारणमा हाम्रो आयोजनाको विद्युत् पुगेको छ’–कम्पनीका कार्यकारी निर्देशक सन्तोष प्रधानले भने–‘यो आयोजनाले विद्युत्को चर्को अभाव टार्न सहयोग गर्नेछ ।’

प्रसारणलाइनमा जोडिए पनि १५ दिनसम्म परीक्षणकोरूपमा आयोजनाले विद्युत् प्रवाह गर्नेछ ।

मंगलबार ६ दशमलव पाँच मेगावाट विद्युत् राष्ट्रिय प्रसारणलाइनमा जोडिएको हो ।

रु एक अर्ब ९२ करोडको लागतमा माबु र माइमझुवामा सन्चालित आयोजनाले मावुदेखि गोदकसम्मका ५५ ओटा टावरमार्फत् ट्रान्समिसन लाइन जडान गरेको छ ।

पञ्चकन्या ग्रुप प्रवद्र्धक रहेको आयोजनामा नबिल, ग्लोबल, एभरेस्ट, एनएमबी र नेपाल बैंकले ऋण लगानी गरेका छन् ।

कम्पनीले ६ दशमलव एक मेगावाटको क्यासकेटको पनि ७५ प्रतिशत काम सकिएको जनाएको छ ।

इलाममा पुवाखोला, माइखोला, सानिमा र माथिल्लो पुवाखोला गरी ४३ मेगावाट क्षमताका विद्युत् आयोजना सन्चालनमा छन् । रासस