काठमाडौं, असार ४ । पूर्वाधार विकासका लागि पूर्वाधार विकास बैंक स्थापनामा सरोकारवालाहरुले जोड दिएका छन् ।
पूर्वाधार क्षेत्रको विकासका लागि वर्षौदेखि पूर्वाधार विकास बैंक स्थापना गर्न सबैले जोड दिँदै आएपनि अझैसम्म पनि बैंक स्थापना हुन सकेको छैन ।
ठूला पूर्वाधार विकासका लागि हालका बैंक तथा वित्तीय संस्थाभन्दा छुट्टै संस्था खोल्नुपर्नेमा जोड दिँदै आइएको छ ।
नेपाल उद्योग परिसंघले शुक्रबार राजधानीमा गरेको ‘पूर्वाधार विकास र चुनौती’ विषयक कार्यक्रमका सहभागीहरुले पूर्वाधार क्षेत्रमा विदेशी लगानी अनिवार्य रहेको र त्यसका लागि उचित वातावरण आवश्यक रहेको बताए ।
नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले पनि पूर्वाधार विकास बैंक आवश्यक रहेको बताए ।
उनले लगानीकर्ताका लागि नेपाल अतिउपयुक्त क्षेत्र रहेको भन्दै लगानी सम्बन्धमा नीतिगत सुधार पनि हुँदै आएको जिकिर गरे ।
अरु मुलुकमाभन्दा नेपालमा खेल्ने ठाउँ बढी रहेकाले लगानीकर्तालाई अवसर रहेको उनको भनाइ छ ।
लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत राधेश पन्तले पूर्वाधार क्षेत्रको विकासमा सरकारको प्रतिबद्धता आवश्यकपर्ने बताए ।
उनले ठूलो आयोजनाका लागि एक सातामा हुने जग्गा अधिग्रहणसम्बन्धी कार्य एक वर्षसम्म लाग्ने गरेको भन्दै यस्ता विषयमा सरकारले अग्रसरता दिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा बैंकर शसिन जोशीले विदेशी लगानी भित्र्याउन सम्पत्तिमाथिको अधिकार सुनिश्चितता आवश्यक रहेको बताए ।
उनले अन्य देशको विदेशी लगानी नीति हेरेर लगानीकर्ता आकर्षित गर्न राज्य लाग्नुपर्नेमा जोड दिए ।
यस्तै, परिसंघका उपाध्यक्ष अनुज अग्रवालले नेपालमा पूर्वाधारको विकासको गति अत्यन्त सुस्त रहेकोे भन्दै लगानी गर्ने छुट्टै संस्था आवश्यक रहेको बताए ।
सहभागीहरुले लगानी बढाउन नीतिगत स्पस्टतामा ध्यान दिनुपर्ने बताएका थिए ।
उनीहरुले ठूला पूर्वाधारका लागि स्वदेशमै प्रशस्त पैसा रहेको भन्दै लगानी गर्ने वातावरण बनाउन आग्रह गरेका छन् ।










प्रतिक्रिया दिनुहोस्