नवीन सिंह (इमेज)
जनकपुरधाम, वैशाख १९ । प्रदेश नम्बर–२ को भाषा, नाम र स्थायी राजधानीबारे सुझाव संकलन गर्ने उद्देश्यले गठित संवाद तथा सुझाव आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ ।
बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जनकपुरधाममा पत्रकार सम्मेलन गरी आयोगका संयोजक डा. हरिवंश झाले मुख्यमन्त्री लालबाबु राउतलाई प्रतिवेदन बुझाएका हुन् ।
मुख्यमन्त्री राउतले आयोगले बुझाएको प्रतिवेदन अध्ययन गरेर मन्त्रिपरिषद् बैठकबाट प्रदेशसभाको समितिमा पठाइने र त्यहाँबाट दुईतिहाइ बहुमतले पारित हुने जानकारी दिए ।
प्रदेशका ८ ओटै जिल्लामा पुगेर आयोगले राजनीतिक दल, नागरिक समाज, संघ–संस्था प्रतिनिधिसँग छलफल तथा संवाद गरी प्रतिवेदन तयार पारेको हो ।
सोक्रममा आयोगले ८ जनाभन्दा बढी प्रतिनिधिको लिखित सुझाव लिएको छ ।
प्रतिवेदनमा प्रदेशको नामकरणबारे मधेस, मिथिला, मिथिला–भोजपुरा, मध्यमधेस, जानकी प्रदेशमध्येबाट एउटा राख्न सुझाव आएको संयोजक झाले बताए ।
त्यस्तै, राजधानीको सवालमा जनकपुर, वीरगन्ज, सिम्रौनगढ, बर्दिबास, लहान, राजविराज, लालबन्दीलगायतका नामहरू सुझावकारूपमा आएको छ ।
प्रदेशको नाम, राजधानी र भाषा टुंगो लगाउन २०७५ साल कात्तिक ११ गते डेढ महिनाको समयावधि दिइ प्रदेश मन्त्रिपरिषद्को बैठकले डा. झाको संयोजकत्वमा तीन सदस्यीय संवाद तथा सुझाव आयोग गठन गरेको थियो । तर, निर्धारित् समयमा काम गर्न नसक्दा दुई महिना समय थप गरिएको थियो ।








प्रतिक्रिया दिनुहोस्