
काठमाडौं, असार ६ । नेपाल पत्रकार महासंघले ‘अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका–२०७३’ का केही प्रावधान संविधानले प्रत्याभूत गरेका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र स्वतन्त्र पत्रकारिताका स्थापित मान्यताविपरीत रहेकोे भन्दै सच्याउन सरकारसँग माग गरेको छ ।
नयाँ माध्यमकारूपमा द्रुत विकास भइरहेको अनलाइन सञ्चारमाध्यमको विकास र विस्तारलाई यस्ता प्रावधानले अंकुश लगाउन खोजिएको महासंघको तर्क छ ।
निर्देशिकाको केही प्रावधान तत्काल हटाउन महासंघले आग्रहसमेत गरेको छ ।
महासंघका महासचिव उजिर मगरद्वारा सोमबार जारी विज्ञप्तिमा निर्देशिकाका नम्बर–११ र नम्बर–२१ का बुँदालाई सच्याउन आग्रह गरिएको छ ।
अनलाइन माध्यमलाई सूचीकरण गर्ने प्रावधानप्रति आफूहरु सकारात्मक रहेको जनाउँदै महासंघले तिनको दर्ता र सूचना विभागबाट हुने अनुगमन/निरीक्षणको व्यवस्थाप्रति असहमति जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ–‘सञ्चारमाध्यम र पत्रकारले पत्रकार आचारसंहिताको दृढतापूर्वक पालना गर्नुपर्दछ र पत्रकारिताका मान्य सिद्धान्त र व्यावसायिक धर्मलाई आत्मसात् गर्नुपर्दछ भन्नेमा कुनै दुई मत छैन ।’
प्रेससँग असम्बन्धित रहेको सुशासनसम्बन्धी ऐनमा टेकेर प्रेस स्वतन्त्रतामाथि अंकुश नलगाउन महासंघले सरकारसँग माग गरेको छ । रासस
प्रतिक्रिया दिनुहोस्