१२ असार २०८२, बिहिबार | Thu Jun 26 2025


काबुल घटनाबारे परराष्ट्रमन्त्रीद्वारा सदनलाई जानकारी, ‘मानवताविरोधी अपराध’


0
Shares

काठमाडौं, असार ६ । उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापाले अफगानिस्तानको काबुलमा सोमबार बिहान भएको घटनामा परेर १४ नेपालीको ज्यान गएको जानकारी दिएका छन् ।

व्यवस्थापिका–संसदको सोमबारको बैठकमा उक्त घटनाको जानकारी दिँदै उनले यस घटनामा परी घाइते भएका पाँचजनाको त्यहाँस्थित अस्पतालमा उपचार भइरहेको बताए ।

रोजगारीका सिलसिलामा काबुल पुगेका निहत्था निर्दोष नेपाली नागरिकमाथि भएको उक्त घटनालाई मानवताविरोधी अपराधको संज्ञा दिँदै उपप्रधानमन्त्री थापाले घटनाको नेपाल सरकारले घोर भत्सर्ना र निन्दा गरेको जानकारी दिए ।

त्यहाँस्थित एक बेलायती कम्पनीमा कार्यरत् नेपाली कम्पनीबाट क्यानाडेली दूतावासतर्फ जानेक्रममा मिनीबसमा सवार व्यक्तिहरु सोमबार बिहान ५ः४० बजे आक्रमणकारीको आत्मघाती बम हमला परेको मन्त्री थापाले जानकारी दिए ।

घटनामा परेर दिवंगत भएका नेपालीको शव स्वदेश ल्याउन तथा घाइतेको उपचारलगायतको व्यवस्था मिलाउन पाकिस्तानस्थित कार्यबाहक राजदूतलाई त्यसतर्फ तत्काल जान निर्देशन दिइसकिएको उनले बताए ।

उनकाअनुसार घटनामा ज्यान गुमाउने नेपालीका परिवारलाई आवश्यक सूचना प्रवाह गर्न तथा अन्य सहयोग पुर्‍याउन परराष्ट्र मन्त्रालयमा डेक्स स्थापना गरिएको छ ।

सरकारले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति र्हािदक समवेदना प्रकट गरेको छ ।

नेपाल सरकारले अफगानिस्तानमा रहेका नेपालीको सुरक्षा गर्न त्यहाँको सरकारको ध्यानाकर्षण गराउनुका साथै अपराधीलाई तत्कालै कानुनी कठघरामा ल्याउन माग गरिएको पनि उनले जानकारी दिए । रासस  

फाइल फोटो