काठमाडौं, असार ७ । सरकारले अफगानिस्तानमा आतंककारीको हमलाबाट निधन भएका नेपालीको शव र घाइते लिन जहाज पठाउने निर्णय गरेको छ ।
उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले ट्वीट गर्दै मंगलबार बिहान सो कुरा सार्वजनिक गरी त्यसका लागि आवश्यक तयारी भइरहेको जनाएका छन् ।
नेपाल वायुसेवा निगमका जहाज मंगलबारै त्यसतर्फ जाने र बुधबारसम्म शव र घाइते नेपाल ल्याइने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
शव तथा घाइते ल्याउनका लागि मंगलबार सो मन्त्रालयमा तीनै सुरक्षा निकाय, निगम, स्वास्थ्य मन्त्रालय, वैदेशिक रोजगार विभागलगायतका उच्च पदाधिकारीको बैठक बसेको थियो ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले जहाज छिट्टै पठाइ अफगानिस्तानबाट शव र घाइते ल्याउने तयारी भइरहेको जानकारी दिए ।
अफगानिस्तानको काबुलमा सोमबार बिहान भएको घटनामा परी १२ नेपालीको ज्यान गएको थियो । सो घटनाप्रति नेपाल सरकारले घोर भत्सर्ना र निन्दा गरिसकेको छ ।
क्यानडाली दूतावासमा कार्यरत् उनीहरु त्यसतर्फ मिनीबसमा जाँदै गर्दा सोमबार बिहान ५ः४० बजे आक्रमणकारीको आत्मघाती बम हमलामा परेका थिए ।
घटनामा परेर दिवंगत नेपालीको शव स्वदेश ल्याउन तथा घाइतेको उपचारलगायतको व्यवस्था मिलाउन पाकिस्तानस्थित कार्यबहाक राजदूत त्यसतर्फ पुगिसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ । रासस





प्रतिक्रिया दिनुहोस्