काठमाडौं, असार ७ । सरकारले अफगानिस्तानको काबुलमा तालिबानको आक्रमणमा परी ज्यान गुमाएका १२ जनाको शव र घाइतेहरुलाई लिन चार्टर्ड विमान पठाउने भएको छ ।
परराष्ट्र मन्त्रालयले मंगलबार अपराह्न पत्रकार सम्मेलन गरी नेपाल वायुसेवा निगमको विमान पठाएर मृतकको शव र घाइतेहरुलाई नेपाल ल्याइने जनाएको हो ।
चार्टर्ड विमान पठाउनका लागि उडान रुटमा पर्ने देशहरुसँग अनुमतिका लागि कुरा भइरहेको पनि परराष्ट्रले बताएको छ ।
अफगानिस्तानमा रहेका अरु नेपालीहरु आउन चाहेमा पनि सोही विमानबाट ल्याइने परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले बताए ।
शव तथा घाइते लिनका लागि नेपाली सेनाका चारजनाको मेडिकल टोली, प्रहरी टोली, गृह, परराष्ट्र र वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका अधिकारीहरु गरी १० जनाको टोली काबुल जाने तयारी भइरहेको जनाइएको छ ।
पाकिस्तानस्थित कार्यबाहक तीर्थराज अर्याल काबुल पुगिसकेको र त्यहाँका सरकारी अधिकारीहरुसँग समन्वय गरिहेको पनि मन्त्रालयले जनाएको छ ।
यसैबीच, सोमबारको आतंककारी आक्रमणमा घाइते भएका कृष्णबहादुर देउजा र मानबहादुर थापालाई भारतको नयाँदिल्ली ल्याइ उपचारका लागि एपोलो अस्पतालमा भर्ना गरिएको र तीनजना घाइतेलाई ल्याउने तयारी भइरहेको पनि पराराष्ट्र मन्त्रालयले जनाएको छ ।
गम्भीर घाइते अवस्थाका च्याङवा तामाङको स्वास्थ्य भने निकै नाजुक रहेको जनाइएको छ ।
परराष्ट्र मन्त्रालयले अफगानिस्तानमा गैरकानुनी तरिकाले कामदार पठाउने एजेन्सीलाई कारबाहीको प्रक्रियासमेत अगाडि बढाएको पनि दाबी गरेको छ ।





प्रतिक्रिया दिनुहोस्