
-गृष्मा राजभण्डारी, ईमेज
काठमाडौं, असार ८ । वैदेशिक रोजगारी नेपाली युवा युवतीका लागि बाध्यताको रोजाई हो । वृद्ध बाबुआमा र काखे छोराछोरी छाडेर कठीन श्रमका लागि विदेशी भूमिमा पुगेका नेपालीहरु जब आतंककारीको निशानामा पर्छन, उनीहरुको पीडा झनै बढ्ने गर्दछ ।
इराक, अफगानिस्तान, सिरिया, लेवनान जस्ता द्वन्द्वग्रस्त मुलुकमा पुगेका नेपालीहरुको जीवन सुरक्षित छैन भन्ने ज्वलन्त उदाहरण हो, अफ्गानिस्तान घटना । आफ्नै आँखा अगाडि १२ जना दाजूभाई मारिएपछि जोखीम मोलेर काममा गरिरहनु भन्दा आफ्नै देश प्यारो भन्दै २४ जना नेपाली स्वदेश फर्केका छन्, दाजूभाईको शवसंगै ।
द्वन्द्वग्रस्त मुलुक भएकाले अफगानिस्तानमा अन्य देशहरुले आफना नागरिकको सुरक्षा प्रवन्धमा कुनै कमी हुन दिंदैनन । तर नेपालीहरुको अवस्था भने नितान्त फरक रहेको उनीहरुको अनुभव छ ।
एकातिर उता बस्दाको असुरक्षा र अर्कोतिर भारी मन लिएर स्वदेश फर्कंदाको नमीठो परिस्थिति । स्वदेश फर्केर के गर्ने भन्ने अन्योल रहेपनि जसोतसो गुजारा चलाउनु पर्ला बताउँछन्, अफ्गानिस्तानबाट फर्केकाहरु ।
काबुलमा आत्मघाती घटना हुँदा आफ्नो बिदाको दिन परेकाले बाँच्न पाएको बताउने यी युवाले घटना लगत्तै आफूले स्वदेश फर्कने सोचाई बनाएको भन्दै घटना डरलाग्दो रहेको बताउँछन् ।
साथीभाईको शवसंगै आएका यिनीहरुको परिवारजनमा पनि विमानस्थलमा रुवाबासी चल्यो, जसरी घटनामा ज्यान गुमाएका परिवारजनमा चलेको थियो । शव राखिएका हरेक कफनमा नाम र थर टाँसेर ल्याइएको थियो भने परिवानजन कफनको नाम हेर्दै शवमा श्रद्धान्जली दिन पुगेको दृश्य निकै मार्मिक थियो ।
देशमा रोजगारीका लागि अवसर नभएकाले वृद्ध बाबूआमा र काखे छोरा छोरी छाडेर विदेश भौंतारिनु नेपालीको बाध्यता हो । हजाारौं नागरिक बर्षेनी बिदेशिन बाध्य छन् । सरकार र जनताको नाममा राजनीति गरेको भन्ने दलहरुका लागि अफगानिस्तान घटना एउटा पाठ हो । युवा जनशक्तिलाई देशमै रोजगारी दिने वातावरण बनाउनु आजको आवश्यकता हो ।
प्रतिक्रिया दिनुहोस्